दुर्घटना बढेपछि रात्रिबसको विकल्प खोजिँदै

१८ मंसिर, धनगढी । सुदूरपश्चिमका बासिन्दाले रात्रिबसको विकल्प खोज्न माग गरेका छन् । रात्रिसेवाका बस दुर्घटना बढ्दै गएकाले दिवासेवा मात्र सञ्चालन गर्नुपर्ने सुझाव आउन थालेको छ । २०६९ पुसमा ३१ जनाको ज्यान जाने गरी डोटीको रुवसकाँडामा भएको बस दुर्घटनापछि दिवाबस मात्र सञ्चालन गर्न माग हुँदै आएकोमा आइतबार बिहान डढेल्धुराको मेलखर्कमा बस दुर्घटनामा परी १३ जनाको मृत्युभएपछि यस्तो माग गर्नेको आवाज चर्को बन्न थालेको हो ।
‘पहिलापहिला सुदूरपश्चिममका सात पहाडी जिल्ला सदरमुकामसम्म पक्की बाटो थिएन, आज दिउँसो हिँडेका बस भोली दिउँसोमात्र गन्तव्यमा पुग्थ्यो, त्यसैले पनि त्यतिबेला समय बचतका लागि रात्रिबस सञ्चालनमा ल्याउनु ठीक थियो । तर अहिले बाजुराबाहेक सबै पहाडी जिल्लामा पक्की सडक पुगिसकेकाले रात्रिसेवाको औचितय छैन,’ नेपाल उद्योग वाणिज्य संघका पूर्व महासचिव मोहनराज जोशीले भने ।
जोशीको जस्तै भनाई राष्ट्रिय उपभोक्ता मञ्च नेपाल कैलाली जिल्ला अध्यक्ष हरि रेग्मीको पनि छ । सर्वसाधारण तथा अन्य सरोकारवालाहरुले रातिको समयमा भएको दुर्घटनामा समयमै उद्दार कार्य हुन नसक्दा धेरैको ज्यान जाने गरेको पाइएकोले विकल्प खोज्न माग गरिएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
यता प्रहरीले भने रात्रि सेवालाई पनि प्रभावकारी बनाउन राति पनि मापसे परीक्षण गर्ने गरेको र बढी गतिमा गाडी कुद्न नदिन टाइम कार्ड पनि राख्ने गरेको बताएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.