पूर्व प्रहरी इन्स्पेक्टरको करतुत

काठमाडौं-ट्युसन पढेर निस्किएकी १३ वर्षीया किशोरीमाथि मैतीदेवी गल्लीमा शुक्रबार बिहान एक्कासि आक्रमण भयो। घाँटीमा धारिलो हतियारको प्रहारपछि किशोरी भुइँमा पछारिइन्।


रगतपच्छे उनी पीडाले टोलै थर्किनेगरी चिच्याइन्। उनको चित्कार सुन्ने त्यहाँ कोही थिएन। जेनतेन उभिन खोजिन्। धेरैचोटि डलपल–डलपल भइन्। तै सम्हालिइन्। उनलाई सहारा दिने कोही थिएन। त्यतिञ्जेल आक्रमणकारी अलप भइसकेका थिए।

एकैछिनमा हल्लाखल्ला भयो। स्थानीयले घटना महानगरीय प्रहरी वृत्त कमलपोखरीमा पुर्याए। घाइते किशोरीलाई अस्पताल पुर्याइयो।

प्रहरीको रोहवरमा जब उनले ६ महिनादेखि भोग्दै आएको पीडा सुनाइन्, प्रहरीको समेत आँखा रसायो।

...

ती किशोरी मैतीदेवीको एउटा स्कुलमा कक्षा ९ मा पढ्छिन्। स्कुल नजिकै एउटा पसल छ। त्यसका साहु पूर्णलाल श्रेष्ठ पहिले इन्स्पेक्टर थिए। सईबाट इन्स्पेक्टरमा बढुवा भएलगत्तै अवकाश पाएका श्रेष्ठ किराना पसल चलाउँथे।

किशोरी दिनहुँ त्यो पसल जान्थिन्, कहिले तितौरा त कहिले चाउचाउ किन्न। यही क्रममा दुवैबीच चिनजान भयो। एक साहुजी र ग्राहकको चिनजान। श्रेष्ठले किशोरीलाई अरू ग्राहकभन्दा आत्मीय व्यवहार गर्थे। कहिले कपडामाथि टिप्पणी गर्थे त कहिले धाप मार्थे। एकल महिलाको अभिभावकत्वमा हुर्केकी उनले बाबुको उमेरका श्रेष्ठको व्यवहारलाई सामान्य रूपमा लिइन्।

तर, श्रेष्ठको मनमा जे चलिरहेको थियो, त्यो एउटा सामान्य व्यक्तिले सोच्नसम्म सक्दैन।

उनले विस्तारै किशोरीमाथि हक जताउन थाले। कति कुरामा निर्देशनसमेत दिन्थे। भन्थे, 'छ्या कस्तो कपडा लगाएको सुहाएन। यस्तो नलगाउनू।'

अलि राम्रो लुगा लगाएर आएको दिन धाप मार्दै भन्थे, 'कस्ती राम्री देखिएकी तिमी आज।'

आफू दिनहुँ गइरहने पसलका साहुजीले गरेको यस्तो व्यवहारमा अनावश्यक शंका गरिरहन उनले आवश्यक ठानिनन्। वास्तवमा उनी कसैको व्यवहारभित्र लुकेको आसय विचार पु¥याउनसक्ने उमेरकै थिइनन्।

उनले कसैलाई केही भनिनन्। उनको यही मौनताबाट श्रेष्ठ हौसिँदै गए। पसल आउँदा लगातार जिस्क्याउन थाले। हुँदाहुँदा किशोरीको स्कुलको गेटसम्मै पुगे। कहिले आफूसँगै हिँड्न जबर्जस्ती गर्थे। विभिन्न बहाना बनाउँदै किशोरीलाई घरबाट पैसा ल्याउन पनि लगाए। कहिलेकाहीँ त 'घरबाट पैसा ले, नत्र ठिक हुन्न' भन्दै थर्काउन थाले। एकपटक त किशोरीले घरबाट हजार रुपैयाँ ल्याएर दिइन् पनि। तर, उनको माग झन्झन् बढ्दै गयो। दुव्र्यवहारले पनि हद नाघ्न थाल्यो।

एकदिन ती किशोरीकी आमाले आफ्नी छोरीमाथि भइरहेको दुव्र्यवहार चाल पाइन्। छोरीलाई लिएर श्रेष्ठको किराना पसल पुगिन्। आइन्दा त्यस्तो नगर्न सचेत गराइन्। स्थानीयले समेत 'बालिकालाई दुव्र्यवहार गर्ने' भन्दै धम्क्याए। फेरि त्यस्तो नहोला भन्दै उनी फर्किइन्।

श्रेष्ठ पनि मैतीदेवीबाट सिफलमा सरे। किशोरीले छुट्कारा पाइन्।

तर, यो अवस्था लामो समय रहेन। यही कात्तिकमा किशोरी स्कुलबाट बाहिर निस्किँदा गेटमै अन्य दुई युवकसँगै श्रेष्ठ उभिएका थिए।

'मेरो बेइज्जत गर्ने,' श्रेष्ठले च्याप्प किशोरीको हात समाएर धम्क्याए।

कपाल लुछे।

सँगै रहेका दुई युवकले तानिरहेको चुरोट किशोरीको जिउमा झोँसे। किशोरीले चुपचाप सहिन्। कसैसँग गुहार मागिनन्। उनी यति डराएकी थिइन्, घर पुगेर आमासँग पनि केही भन्न सकिनन्।

मंसिर ३ गते आमा चुनावका लागि गाउँ गइन्। डेरामा किशोरी र उनका भाइ मात्र थिए। त्यहीबीच श्रेष्ठ तिनै युवकहरूसहित भेटिए।

'तेरो घरमा भएको सबै सुनका गहना ले, नत्र ठिक हुन्न,' तीनैले एकै स्वरमा धम्क्याए।

किशोरीले आमाको सुनको सिक्री, औंठी जे–जे थिए, ती सबै बुझाउनुको विकल्प देखिनन्।

त्यति गर्दा पनि श्रेष्ठको दुव्यर्वहार रोकिएन।

शुक्रबार त हत्या प्रयासमै ओर्लिए।

...

घाइते किशोरीको यस्तो बयानलगत्तै महानगरीय प्रहरी वृत्त कमलपोखरीका डिएसपी मुकेश सिंहले श्रेष्ठलाई पक्राउ गर्न आदेश दिए।

प्रहरीले सिफल पुगेर ५०–५५ वर्षका श्रेष्ठलाई लिएर आए। प्रहरी निरीक्षकबाट अवकास पाएका श्रेष्ठले गरेका कुकृत्य सुनेपछि प्रहरीले उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोका पठायो। अहिले हत्या प्रयासको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ।

'पहिला त आक्रमणकारी को हो भन्ने खुट्याउन सकिएको थिएन,' डिएसपी सिंहले सोमबार किशोरीको बयान र घटना विवरण सुनाउँदै नागरिकसँग भने, 'किशोरीसँग कुरा गर्दा श्रेष्ठले पहिला पनि पटकपटक यातना दिने गरेको खुलेपछि पक्राउ गरेर ल्यायौं।'

श्रेष्ठले भने आफु निर्दोष भएको दाबी गरिरहेका छन्। किशोरीको बयान नकार्न नसकेकाले प्रहरी उनी कुनै न कुनै रूपमा घटनामा संलग्न रहेको निष्कर्षमा पुगेको छ । श्रेष्ठले पटकपटक यातना दिएको प्रहरीको बुझाइ छ। कुन नियतले श्रेष्ठले १३ वर्षीया किशोरीमाथि निरन्तर यातना र आक्रमण गरेको हो निक्र्यौल गर्न सकेको छैन।

'शारीरिक शोषण गरेको अहिलेसम्म खुलेको छैन। शारीरिक र मानसिक यातना दिएको र रकम असुलेको देखिन्छ,' उनले भने, 'परिसरले मुद्दा प्रक्रिया अघि बढाएकाले पछि अरू खुल्न सक्छ।'

श्रेष्ठका दुई सहयोगीको भने पहिचान हुन सकेको छैन। किशोरीले दिएको हुलियाका आधारमा प्रहरीले उनीहरूको खोजी गरिरहेको छ। उनीहरू पक्राउ परेपछि श्रेष्ठको योजना खुल्ने प्रहरीको आशा छ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.