एमाओवादीसहितका १६ दलले निर्वाचन आयोगको बैठक बहिस्कार गर्ने

१७ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीसहितका निर्वाचन परिणामप्रति असन्तुष्ट दलहरु निर्वाचन आयोगले बोलाएको बैठकमा सहभागी नहुने भएका छन् । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको १६ दलको बैठकले आयोगले बोलाएको बैठक बहिस्कार गर्ने निर्णय गरेको हो । ‘धाँदली भएको धेरै प्रमाण भेटिएको छ । यसबारे छानविन नभएसम्म आयोगले बोलाएको बैठकमा नजाने निर्णय भएको छ’ संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो-’छानविन नभएसम्म समानुपातिक र प्रत्यक्ष दुबै निर्वाचन प्रक्रियामा सहभागी हुँदैनौं ।’ बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले निर्वाचनमा धाँदली भएको भन्दै बैठक बहिस्कारको प्रस्ताव राख्नु भएको थियो । समानुपातिक निर्वाचन प्रणालीमा दलहरुले पाएको मत र सिटबारे जानकारी दिन निर्वाचन आयोगले मंगलबार दलहरुलाई बोलाएको छ । एमाओवादीसहितका दलहरुले निर्वाचनको छानविन नभएसम्म संविधानसभामा नजाने गरी मोर्चा बनाएर आन्दोलनको तयारी गरेका छन् । ‘सहकार्यको मोडालिटीबारे छलफल सुरु भएको छ’ श्रेष्ठले भन्नुभयो-’दलहरुले आफ्नो दलमा छलफल गरेर आउने भन्ने भएको छ । यसबारे अर्को बैठकमा निर्णय हुन्छ ।’ अर्को बैठक बुधबार बोलाइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.