तपस्बी बम्जन हेलिकप्टर चार्टड गरेर सिन्धुपाल्चोक


सिन्धुपाल्चोक- चर्चा र विवादमा पर्दै आएका तपस्बी रामबहादुर बम्जन हेलिकप्टर चार्टड गरेर सिन्धुपाल्चोक आइपुगेका छन्। तपस्याका लागि शान्त ठाउँ खोज्दै आइपुगेका उनी जिल्लाको मध्ये क्षेत्रमा पर्ने बाँडेगाउँ–५ स्थित तोड्के भिरमा आश्रम बनाइ बसेका छन्। शान्त स्थलमा तपस्या गर्न आएका बोम्जन पाँच–आठ वर्ष अब यहीँ बस्ने सहयोगी रामचन्द्र खड्काले नागरिकन्युलाई बताए। सिम्रिक एयरको हेलिकप्टर चढेर आएका बम्जन शुक्रबार अपरान्ह ११ बजे स्थानीय थलडाँडामा ओर्लिका थिए।
सुटुक्क आए पनि हेलिकप्टर हेर्न भेला भएका झण्डै ५ सय गाउँलेको घेरामा उनी दिनभरजसो परे। स्थानीय थलडाँडामा बनेको हेलिप्याडमा उनी ओर्लिएका थिए। रतनपुर, बाराका २१ वर्षीय बम्जन तपस्बीका रुपमा केही वर्षयता चर्चामा छन्। बेला–बेलामा प्रदर्शन गर्ने व्यवहारबाट उनी उत्तिकै विवादित पनि छन्। पछिल्लो समय उनी सर्लाहीको उत्तरपुर हलपोखरीमा थिए। उत्तरपुर अशान्त बनेपछि एकान्त र शान्त स्थलको खोजीमा रहेका बम्जनलाई आफैंले यहाँ ल्याएको सहयोगी खड्काले बताए। उत्तरपुरको सरकारी जग्गा अडपेर तपस्या र आश्रय स्थल बनाएको भन्दै आलोचना भएपछि उनी त्यहाँ विवादमा तानिएका थिए। तोड्केभिरमा उनको लागि आश्रम बनेको छ। उनका १६ सहयोगीका लागि पाल टाँगेर बस्ने व्यवस्था मिलाइएको छ। गाउँलेले बिजुली र खानेपानी दिएका छन्। हाललाई खाद्यन्नको जोहो पनि गाउँलेबाटै भएको सहयोगी खड्काले जानकारी दिए। केही दिनअघि आएका सहयोगीले आश्रमस्थल निर्माण गरेका थिए। सर्लाही उत्तरपुरबाट उनी सिधै हेलिक्टर चढेर यहाँ आइपुगेका हुन्। शुक्रबार उनी भेटघाटमा व्यस्त भए पनि शनिबार बिहानैदेखि बने रोक लगाइएको छ। जन्मभूमिकै रतनपुरी जंगलमा कलिलै उमेरमा तपस्यामा बसेपछि उनको चर्चा सुरु भएको थियो। त्यसपछि सिन्धुली, सर्लाहीलगायत हुँदै उनी तपस्या गर्न भनेर यहाँ आइपुगेका हुन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.