प्रचण्ड जी "किन मारिए १७ हजार निर्दोष नेपाली? "

काठमाडौं -'नेपालजस्तो शान्त मुलुकमा १७ हजारभन्दा बढी गरिब जनतालाई मारेर तपाईंहरू शक्तिमा आउनुभयो। युद्धकालमा बित्थामा मारिएका ती १७ हजार नेपालीको रगतको जिम्मा लिनुहुन्छ कि लिनुहुन्न?' राजधानीमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलन क्रममा अमेरिकाबाट सहभागी दर्शन रौनियारले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मंगलबार ठाडै यस्तो प्रश्न गरे।

दाहाललाई थप र्‍याखर्‍याख्ती पार्दै उनले सोधे, 'गरिब जनताको रगतमा टेकेर तपाईंहरू शक्तिमा पुग्नुभयो, तर जनताले के पाए? उनीहरूको रगतको मूल्य के हो?'

अमेरिकी कंग्रेसमा डेमोक्रायटि्क पार्टीबाट उम्मेदवारी दिएर चर्चामा आएका रौनियारबाट यस्तो आलोचनात्मक प्रश्न सुनेपछि अध्यक्ष दाहाल तिल्मिलाए। आक्रोसित हुँदै भने, 'देशमा बलिदानी दिने बेला तपाईंहरू विदेश गएर बस्ने, अनि अहिले आएर ठूल्ठुला कुरा गर्ने?'

सम्मेलनको चौथो दिन भद्रकालीको आर्मी अफिसर्स क्लबमा 'समृद्ध नेपालका निम्ति आर्थिक एजेन्डा' विषयक अन्तर्क्रियामा सहभागी एनआरएनहरूले द्वन्द्वकालीन घटनाको प्रसंग उठाएपछि अध्यक्ष दाहालसँग चर्काचर्की परेको थियो । केही एनआरएनले लडाकु शिविरभित्र भएका आर्थिक अनियमितताको कुरा उठाए। पार्टीले सरकारी स्रोतसाधन दुरुपयोग गरी अर्बौं रकम जम्मा गरेको कुरा पनि उठ्यो। यतिमात्र होइन, अध्यक्ष दाहालपुत्र प्रकाशको रवैया र 'दोस्रो बिहे'को विषयमा समेत सहभागीले प्रश्न उठाए।

रौनियारले 'माओवादीलाई अनाहक आलोचना गर्नभन्दा जिम्मेवार बनाउन आफूले त्यस्तो प्रश्न सोधेको' बताएका छन्। साथै दाहालले दिएको जवाफबाट आफू र अन्य सहभागीहरु सन्तुष्ट हुन नसकेको उनले प्रतिक्रिया दिए।

'दस वर्ष लामो सशस्त्र द्वन्द्व क्रममा भएका हत्याहिंसाबाट नेपाली जनताले के पाए भन्ने मेरो सवाल हो, यो मेरो मात्र होइन, अमेरिकामा समेत यो प्रश्न चर्को रूपमा उठेको छ, नेपालभित्रै पनि माओवादीलाई जिम्मेवार बनाउन यस्तो प्रश्न सोधिनुपर्छ,' मंगलबार बेलुकी नागरिकसँग कुरा गर्दै रौनियारले भने, 'तर, प्रचण्डबाट सन्तुष्ट हुने जवाफ आएन।'

नेपाली कांग्रेसका अध्यक्ष सुशील कोइराला लगायत विभिन्न पार्टीका शीर्षनेता समेतको उपस्थिति रहेको उक्त सम्मेलनमा रौनियारले आर्थिक समृद्धिको निम्ति सबै दलबाट ठोस प्रतिबद्धता आउनुपर्ने बताएका थिए।

'आज यस सम्मेलनमा सुशीलजी पनि हुनुहुन्छ, यही मञ्चबाट तपाईं (नेता) हरू सबैले चारवटा प्रतिबद्धता गर्नुपर्‍यो,' रौनियारले भने, 'बन्द–हड्ताल सधैंका निम्ति बन्द गर्नुपर्‍यो, पूर्वदेखि पश्चिमसम्मका सबै राजमार्गलाई शान्तिक्षेत्र घोषणा गरी सवारी साधनको आउजाउमा बिघ्नबाधा खडा गरिनुभएन, कलेज, विश्वविद्यालय लगायत शैक्षिक क्षेत्रलाई राजनीतिको केन्द्र बनाउने कार्य बन्द गरिनुपर्‍यो र उद्योग तथा कलकारखानामा युनियनबाजी हुनुभएन।'

उनले अगाडि थपे, 'दलहरूले यति चारवटा प्रतिबद्धता गर्न सके मात्र हामी समृद्ध नेपालको आशा राख्नसक्छौं, के तपाईंहरू आज यो सम्मेलनमा सहभागी एनआरएनसामु यति प्रतिबद्धता गर्न सक्नुहुन्छ? सक्नुहुन्न भने अब जनताले नै उठेर यो राज्य चलाउनुपर्नेछ।'

रौनियारले सोधेका यी प्रश्नमा दलहरूका तर्फबाट कुनै खास जवाफ त आएन नै, उल्टो सम्मेलनमा सहभागी केही एनआरएनले उनलाई नै चुप लगाउने प्रयास गरे। 'व्यक्तिगत लाञ्छना लगाउने खालका प्रश्न नगर्न' रौनियार लगायतलाई सचेत गराइयो। केहीले 'यो पार्टीका कार्यकर्ताले जस्तो प्रश्न सोध्ने ठाउँ हैन' सम्म भने। यसले केही बेर सम्मेलनस्थल माओवादी पक्ष र विपक्षजस्तो दुई चिरामा बाँडिएर असहज स्थिति उत्पन्न भएको थियो।

चर्काचर्कीबीच सत्रका सञ्चालक कुलचन्द्र गौतमलाई स्थिति साम्य पार्न हम्मेहम्मे परेको थियो। उनी न दाहालको आलोचना गर्नेहरूलाई चुप लगाउन सकिरहेका थिए, न समर्थन गर्नेहरूलाई शान्त पार्न। सम्मेलनस्थल 'माछाबजार'जस्तो हुन थालेपछि एनआरएनएका निवर्तमान अध्यक्ष जीवा लामिछाने तथा संस्थापक अध्यक्ष उपेन्द्र महतो आफैं स्थिति सम्हाल्न अघि सर्नुपर्‍यो।

महतोले आर्थिक समृद्धिका एजेन्डामा केन्द्रित नभई राजनीतिक सवालजवाफ गर्ने हो भने बैठकस्थल बाहिर जान निर्देशन दिए। उनको हस्तक्षेपपछि बल्ल खैलाबैला शान्त भयो।

यो पूरा अवधिभर अध्यक्ष दाहाल झन्डैझन्डै केही बोलेनन्। झोक्राएर बसिरहे। सम्मेलनस्थलको माहोल सहज अवस्थामा फर्किएपछि मात्र उनी आक्रोसित हुँदै जवाफ दिन अघि सरेका थिए।

'आज देशमा जेजति राजनीतिक उपलब्धि हासिल भएका छन्, त्यसमा धेरै ठूलो हात माओवादी बलिदानकै छ। त्यही बलिदानकै कारण तपाईं–हामी यो स्थितिसम्म आइपुगेका हौं,' उनले भने।

द्वन्द्व क्रममा भएका सबै घटनाको 'नैतिक जिम्मेवारी' आफूले लिने बताउँदै उनले त्यसबीच कति हजार मारियो भनी 'इतिहासका घटना उप्काइयो भने ठूलो भूल हुने' उल्लेख गरे। 'इतिहासको त्यही घटनाबाट आजको परिवर्तन आएको हो, यसको सकारात्मक पक्षतिर लाग्नुमै हामी सबैको हित छ, तपाईंहरू किन नकारात्मक कुराहरू मात्र गर्नुहुन्छ?' उनले भने, 'इतिहासको कुरा उप्काउने हो भने यहाँ को कति मान्छे मारेर आएका छन् भन्ने सबै कुरा उठ्नेछ।'

'राजा–महाराजाले नै कत्ति मान्छे मारेका छन्, कांग्रेस पनि मान्छे मारेरै आएको हो, आजको एमालेले पनि हिजो मान्छे मारेकै थियो,' उनले भने।

द्वन्द्व क्रममा भएका घटनाको अनुसन्धान र फैसला सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्नुपर्नेमा त्यसअघि नै विभिन्न तवरले द्वन्द्वको हिसाबकिताब गर्न खोजे शान्ति प्रक्रिया भाँडिनसक्ने चेतावनीसम्म दाहालले दिए।

'सत्य निरुपण तथा मेलमिलाप आयोगबाट छानबिन गरौं भन्ने प्रस्ताव हामीले नै गरेका हौं,' उनले भने, 'आयोगले गल्ती प्रमाणित गर्छ भने म फाँसीमा चढ्न तयार छु।'

सम्मेलनमा कांग्रेस सभापति कोइरालाका अतिरिक्त संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, मधेसी जनअधिकार फोरमका उपाध्यक्ष भरतविमल यादव लगायत नेताहरूले संविधानसभा निर्वाचनपछि देशको आर्थिक समृद्धिका निम्ति आर्थिक एजेन्डामा जोड दिनुपर्ने बताएका थिए।

0 comments

Write Down Your Responses

Powered by Blogger.