सुटुक्कै उम्मेद्वार बने वैद्य माओवादीका केन्द्रीय नेता !

१ कात्तिक, काठमाडौं । आखिर सभासद बन्न पाइन्छ भने कसलाई लोभ लाग्दैन ! मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी चुनाव बहिस्कार आन्दोलनमा रहेका बेला उनका एक केन्द्रीय सदस्य एवं पूर्वसभासदलाई भने प्रत्यक्ष चुनाव लडेर पुनः सभासद बन्ने रहर लागेको छ । यो रहर पूरा गर्न उहाँले असोज १७ गते तोकिएकै मितिमा निर्वाचन कार्यालयमा पुगेर सुटुक्कै उम्मेदवारी दर्ता समेत गराइसकेको खुलासा भएको छ ।

यसरी चुनाव लड्न रहर गर्ने वैद्य माओवादीका केन्द्रीय सदस्य हुनुहुन्छ- शिवचन्द्र कुशवाहा । उहाँले बारा २ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । तर, उहाँले एमाओवादी वा वैद्य माओवादीबाट उम्मेद्वारी दर्ता गर्नुभएको होइन । उहाँ स्वतन्त्र उम्मेद्वार पनि होइन । पूर्वसभासद् कुशवाहाले राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट उम्मेद्वारी दिनुभएको हो ।
shiva-chandra-kushwaha
बारा २ मा असोज १७ गते उम्मेदवारी दर्ता गरेका कुशवाहा शुक्रबार मात्रै सद्भावना पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँ अघिल्लो संविधानसभामा बारा २ बाट निर्वाचित हुनुभएको थियो । माओवादीबाट निर्वाचित पूर्वसभासद कुशवाहाको निकटतम प्रतिद्वन्दी मधेसी जनअधिकार फोरम थियो भने सो क्षेत्रमा ०६४ सालमा नेपाली कांग्रेस तेस्रो, तमलोपा चौथो र नेकपा एमाले पाँचौं स्थानमा थिए ।
यसपालि वैद्य समूहले चुनाव बहिस्कार गर्ने नीति लिएपछि पूर्व सभासद कुशवाहा महतो नेतृत्वको सद्भावनामा लागेर पुनः चुनाव लड्नुभएको हो । अघिल्लो चुनावमा बारा २ मा सद्भावना पार्टीले ३ सय ६९ मत ल्याएको थियो ।
बारा २ मा यसपालिको चुनावमा कांग्रेस, एमाले र एमाओवादीले तीनै जना यादव उम्मेद्वारी दिएका छन् भने ०६४ सालमा दोस्रो स्थानमा रहेको मधेसी जनअधिकार फोरम फुटेपछि उपेन्द्र यादव र गच्छदार समूहका दुई उम्मेद्वार खडा भएका छन् ।
शुक्रबार सद्भावनाको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उक्त पार्टीका अध्यक्ष राजेन्द्र महतोले कुशवाहालाई औपचारिक रुपमा कुशवाहालाई पार्टी प्रवेश गराउनुभयो । पार्टी प्रवेशसँगै उहाँलाई उपाध्यक्ष पद दिइएको छ । कुसवाहासँगै वाइसीएल बारा अध्यक्ष वृजकिशोर कुशवाहासहितका ९ जना सद्भावना प्रवेश गरेका छन् ।
- source:onlinekhabar

0 comments

Write Down Your Responses

Powered by Blogger.