टेलिकमले निःशुल्क वाइफाई उपलब्ध गराउने
१५ मंसिर, काठमाडौं । नेपाल टेलिकमले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा करिब तीन महिनाका लागि निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने भएको छ ।
सामाजिक दायित्वअन्तर्गत टेलिकमले पहिलो
चरणमा राजधानीका विभिन्न स्थानमा ‘हटस्पट’ जडान गरी पहिलो चरणमा तीन महिना
निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो ।
टेलिकमले
त्यसखालको सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु गरिसकेको छ भने
वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महारजगन्ज लगायतका
स्थानमा पनि सो सेवा उपलब्ध भइसकेको छ । त्यस्तै, यस्तै गङ्गालाल हृदय रोग
केन्द्रमा पनि त्यसखालको सुविधा उपलब्ध गराउने तयारी गरिएको छ ।
टेलिकमले यस वर्ष मुलुकभर करिब ५ सय
स्थानमा हटस्पट जडान गरी वाइफाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
नागरिकको धेरै आवतजावत हुने स्थानमा पहिलो चरणमा त्यसखालको सेवा दिन
लागिएको हो ।
टेलिकमका उपप्रवन्धक देवेन्द्र खतिवडाका
अनुसार नागरिकको भेटवार्ता बढी हुने स्थानमा पहिलो चरणमा निःशुल्क वाइफाई
सेवा प्रदान गरिने छ । टेलिकमले अस्पताल, रेष्टुराँ, विमानस्थल, पार्क सपिङ
मल, बसपार्क पर्यटकको आवतजावत हुने स्थानमा त्यसखालको सेवा उपलब्ध गराउन
लागेको हो ।
टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले
सामाजिक दायित्व र कम्पनीको व्यापार विस्तार गर्ने ध्येयका साथ ग्राहकलाई
यसखालको सुविधा दिन लागिएको बताउनुभयो । डाटा सेवाको पहुँच बढाउन यसखालको
कार्यक्रम अगाडि सारिएको टेलिकमको भनाइ छ ।
राजधानीका अन्य स्थानमा पनि काठमाडौँ महानगरपालिकाको सहयोगमा त्यसखालको सेवा उपलब्ध गराइने छ ।
यसखालको सेवा ग्राहकले मोबाइल फोन,
स्मार्टफोन, आइप्याड, ल्यापटपलगायतका साधनमा चलाउन सक्ने छन् । हाल
टेलिकमले एडिएसएल, वाइम्याक्स, इभिडिओमार्फत इन्टरनेट सुविधा प्रदान गर्दै
आएको छ । रासस
|
0 comments
Write Down Your Responses