सुन्तला खान भारतदेखि पैदलै
१८ मंसिर, इलाम । नेपालभन्दा झण्डै २२ गुणा ठूलो छिमेकी राष्ट्र भारतमा के छैन ? दाल, चामल, चिनीदेखि नुन, तेल र लुगाफाटोसम्मै भारतमैं धेरै उत्पादन हुन्छ । हामी सियोदेखि फालीसम्म र बिस्कुटदेखि बलपेनसम्म भारतबाटै आयात गछौं । एक अर्ब २१ करोड हाराहारी जनसंख्या भएको भारतमा यस्ता पनि ठाउँ छन् जहाँ सुन्तला फल्दैन तर त्यहाँका मानिसहरु गुलियो रसले मुख मिठ्याउन मरिहत्ते गर्छन् ।
पश्चिम बंगालको सिलिगुडी नजिकको क्षेत्र
त्यस्तै हो जहाँबाट ठूलो संख्यामा भारतीयहरु सुन्तला खान इलामको सलकपुर
आउँछन् । सिमाना मानिएको मेचीखोला तरेर बर्षका दुई महिना सुन्तलाको स्वाद
लिन पैदलै आउने भारतीयहरु दिनभर घुमेर फर्किन्छन् । लोहागढ, मञ्जा,
बागडुग्रा, नक्सल, बेलगाछी, पानीट्यांकी, गलगलिया आदि ठाउँका भारतीयहरु
अहिले सलकपुरमा भेटिन्छन् ।
विकासका आधारभूत सुविधाबाट अझै बञ्चित
हुँदा स्थानीयले ‘इलामले नहेरेको, झापाले नदेखेको’ भन्ने सलकपुर जिर्मले
गाविसमा पर्छ । जिर्मलेका १, २ र ३ नम्बर वडाको संगमथलोलाई सलकपुर भनिन्छ ।
तीनसय ३० घरधुरी रहेको सलकपुरमा एक सय पाँच घर व्यवसायिक सुन्तला खेतीमा
संलग्न छन् । स्वदेशी ग्राहक फाट्टफुट्ट आउने यहाँ भारतीयहरु भने हूल
बाँधेर ओइरिन्छन् ।
‘सुन्तला हाम्रोतिर फल्दैन, सिलिगुडीभन्दा
नेपालमैं सस्तो पाइनाले मेची तरेका हौं’ सिलिगुडी नजिकैको डिजेल कोलोनीबाट
आएका रवि कुजुरले भने, ‘छुट्टीको दिन मज्जाले घुम्दै सुन्तला खाएर
फर्किनुको आनन्द अर्कै हुन्छ ।’ हरेक आइतवार समूह-समूह बनाएर आउने भारतीयले
न्युनतम तीन सयदेखि अधिकतम सात सय रुपैयाँ खर्च गरी र्फकन्छन् । त्यसमा
सुन्तला किन्न हत्ते गर्ने धेरै हुने गरेको नागरिक दैनिकमा खबर छ ।
सलकपुर आउने पूर्वयोजना बनाएका भारतीयहरु
मेचीपारिको लोहागढसम्म सवारी साधनमा र त्यहाँदेखि पैदलै उक्लिन्छन् ।
लोहागढको मैदान हरेक आइतवार साइकल, मोटरसाइकल, रिक्सा र गाडीले भरिभराउ
हुन्छ । मेचीवारीको नागवेली पाराको घुमाउरो बाटोमा सुस्केरा हाल्दै र
सुन्तलाको तिर्सनाले थुक निल्दै सलकपुर चढ्ने भारतीयको लर्को कमिलाको
ताँतीजस्तै हेरिरहुँलाग्दो हुन्छ ।
‘कतिबेला भारतीयहरु आउलान् र सुन्तलासहित
अरु सामग्री बेच्न पाइएला भन्ने कौतुहलता बोकेका गाउँले उनीहरुलाई
देख्नासाथ खुसी हुन्छन्’ गोल्डेन भ्याली सामुदायिक अध्ययन केन्द्रका
अध्यक्ष कुमार मोक्तानले भने, ‘उनीहरु आउँदा आफ्नो उत्पादन बिक्ने र गाउँको
प्रचार पनि हुने ठान्दै सत्कार गर्ने धेरै हुन्छन् ।’ कात्तिक-मंसिरका आठ
हप्तामा १५ हजार बढी भारतीय आउने अनुमान छ ।
अघिल्लो बर्ष साढे दुई करोड रुपैयाँ
बराबरको सुन्तला उत्पादन भएको सलकपुरमा आधाजसो भारतीयले किनेको अगुवा किसान
रोमश अधिकारीले बताए । ‘जब सिजन सुरु हुन्छ तब सयौंको संख्यामा आउने
भारतीयलाई सुन्तला बेच्न भ्याइनभ्याइ हुन्छ’ दुई लाख रुपैयाँ बराबरको
सुन्तला बेचेका अधिकारीले भने, ‘नेपाली व्यापारीले बगानै मोल्छन् भने
भारतीयले चाहिं थोरै थोरै किनेर लान्छन् ।’
गाउँमा सुन्तला नपाएपछि दुई घण्टाजति पैदल
हिँडेर सलकपुर आइपुग्ने भारतीयमा निम्न र मध्यमवर्गीय नरनारी धेरै हुन्छन्
। हप्तामा पाँच सयदेखि तीन हजार जनासम्म आउनेक्रम अझै जारी छ । उनीहरुलाई
नैं लक्षित गरेर बाटोका गोलाई, डाँडा र घर छेउमा अस्थायी दोकान थाप्ने
महिलाहरु धेरै हुन्छन् । सुन्तलाका अतिरिक्त चिया नास्तासँगै साग, फर्सी,
कुचो, कागती बेच्नेहरु दर्जनौं हुन्छन् ।
‘हामी यसलाई सुन्तलामा आधारित पर्यटन
भन्छौं’ स्थानीय किसान मुकुन्द अधिकारीले भने, ‘किसानकै प्रयासमा नमूना
कृषि बन्दै गरेको सलकपुर भारतीयले भरिभराउ हुनु सुखको कुरा हो ।’
हप्तैपिच्छे हजारौं रुपैयाँको सुन्तला र अरु सामान किनमेल गर्न आउने
भारतीयहरु सलकपुरभन्दा टाढा जाँदैनन् । उनीहरुलाई इलामका अरु स्थान पनि
घुमाउनसक्दा थप पर्यटन विकास हुने देखिन्छ ।
0 comments
Write Down Your Responses