दशैंमा प्याजको भाऊले आकास छुने !!


काठमाडौ, असोज १४ – दशैँमा प्याजको भाउ अझ बढ्ने सम्भावना रहेको व्यापारीहरुले बताएका छन् । भारत र चीनबाट प्याज आयात भइरहेपनि माग अनुसार नआउँदा भाउ बढ्ने सम्भावना रहेको उनीहरुको भनाई छ । भारतबाट आयात घट्दा प्याजको भाउ प्रतिकिलो झण्डै डेढ सय रुपैयाँ पुगेपछि अभाव हुन नदिन बजारमा चिनियाँ प्याज भित्र्याइएको थियो । चीनबाट आयात हुन थालेपछि उपभोक्ताले केही राहत पाएपनि पुग्नेजति प्याज नआएको कालिकाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सरकारले प्याजको उत्पादन बढाउन प्रयास गरेपनि सफल नभएको जनाएको छ । प्याजको उत्पादन बढाउन किसानलाई अनुदानमा बिउ, मल र विषादी उपलब्ध गराएपनि गुणस्तरीय बिउ नपर्दा समस्या भएको सरकारको भनाई छ । प्याजको बिउ भारतबाट आयात गरिन्छ । आयातित धेरै बिउ गुणस्तरहीन पाइएको नार्कका वरिष्ठ प्राविधिक अधिकृत तीर्थराज पोखरेलले बताउनुभयो । समयमा बिउ नआउने र आएको पनि गुणस्तरहीन हुँदा उत्पादकत्व बढाउन नसकिएको उहाँको भनाई छ । उहाँका अनुसार प्याजको उत्पादन बढाउन स्वदेशी बिउलाई प्राथमिकता दिन जरुरी छ । बिउ उत्पादनका लागि पहिलो वर्षको मूल बिउबाट गाना उत्पादन गर्नुपर्छ र अर्को वर्ष गानाबाटै बिउ उत्पादन गर्न उपयुक्त हुन्छ । गानाबाट उत्पादन गरिएको बिउ गुणस्तरीय हुनुका साथै उत्पादन पनि बढाउन सकिने वरिष्ठ प्राविधिक पोखरेलेको भनाई छ । उत्पादन भएका प्याजको उचित भण्डारमा ध्यान पुर्‍याउन सके अभाव नहुने उहाँले बताउनुभयो । त्यसका लागि सरकारले प्याज खेती भएका ठाउँमा शितभण्डारको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.