उपत्यकावासीका लागि दशैमा ५० हजार खसी !

काठमाडौं अशोज १६ । यो वर्षको दसैंका लागि निजीक्षेत्रले करिव ५० हजार खसीबोका उपत्यका भित्र्याउने भएको छ । भक्तपुरसहित उपत्यकाका धेरै स्थानमा बर्डफ्लूबाट लाखौं कुखुरा मार्नुपरेपछि उपभोक्ताको मागलाई धान्न त्यतिका संख्यामा खसीबोका ल्याउन लागेको चौपाया खरिद विक्री संघका सचिव गिरीराज बस्नेतले बताउनुभयो । “हामी यो दसैंका लागि गत वर्षको भन्दा दोब्बर खसीबोका उपत्याकामा ल्याउँदैछौं । उपभोक्ताबाट धेरै माग हुने अनुमान गरेर ४० वटा किन्नेलाई ८० वटा र ८० वटा किन्नेलाई एक सय ६० वटा किन्न लाउँदैछौं ।”, चौपाया खरिदविक्री सेवा संघका सचिव गिरीराज बस्नेतले भन्नुभयो, “बजारभाउ बढ्न नदिएर उपभोक्तालाई राहत दिने उद्देश्यले हामीले यो निर्णय लिएका हौं ।”

निजीक्षेत्रका व्यापारीले १६ श्राद्धसम्म भारतबाट खसी ल्याइरहेका छन् । “नेपाली खसी भन्दा भारतीय खसी सस्तो पर्ने भएकाले भारतबाट ल्याइरहेका छौं । दशैंमा चाँहि सबै खसी नेपालबाटै खरिद गरेर बजारमा ल्याउँदैछौं ।” सचिव बस्नेतले भन्नुभयो । निजीक्षेत्रले असोज १८ देखि उपत्यकामा खसी ल्याउन थाल्ने भएको छ । सबै उपभोक्तालाई सहजरुपमा खसी उपलव्ध गराउन दशैं शुरु हुनअघि नै बजारमा लैजान लागेको व्यवासयीहरुको भनाइ छ ।सरकारले योपटक खाद्य संस्थानमार्फत करिव ३४ सय वटा खसी उपत्यकामा ल्याउन लागेको छ । निजी क्षेत्रले सरकारले थोरै संख्यामा खसी ल्याएर आफूहरुलाई समस्यामा पार्न खोजेको आरोप लगाएको छ ।

“सरकारले उपभोक्तालाई पुग्नेगरी खसी उपलव्ध गराएमा हामीले धेरै नाफै खानुपर्दैन । सरकारले जहिल्यै अभाव सिर्जना गर्ने गरी थोरै संख्यामा खसी ल्याउँछ ।” टुकुचामा खसी खरिद विक्री गर्दै आएका व्यापारी सन्तोषबहादुर खत्रीले भन्नुभयो ।”, “खाद्य संस्थानले ल्याएका राम्रा खसीजति नेता र हाकिमले लगेर नराम्रा र रोगीचाँहि उपभोक्तालाई दिन्छ । त्यसैले सरकारले दिने सहुलियत व्यबहारिक छैन ।” स्वस्थ मासु दिन जिल्लामा खरिद खसीको उतै स्वास्थ्य जाँच गरेर उपत्यका भित्र्याउने दावी चौपाया खरिद विक्री संघले गरेको छ । जिल्लामा पशुस्वास्थ्य कार्यालयले परिक्षण गरेरमात्रै खसी उपत्यका ल्याएर यहाँ पनि विक्री गरिनु अघि स्वास्थ्य परिक्षण गरिने संघको भनाइ छ ।

काठमाडौंमा निजीक्षेत्रबाट टुकुचा, कलंकी र विजुलीबजारबाट खसी बोका विक्री गरिन्छ । अहिले जिउँदो खसीप्रति किलो ४ सय रुपैयाँमा विक्री भइरहेको छ । व्यापारीहरुले दाङ, सल्यान, सुर्खेत, उदयपुर, ओखलढुंगा र खोटाङबाट खसी ल्याउने गरेका छन् । योपटक पनि व्यापारीहरुले तिब्बतबाट च्याङ्ग्रा ल्याउने भएका छन् । डलरको भाउ बढेकाले च्याङ्ग्रा किन्नेहरुको दसैं भने महंगिने भएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.