बारा ४ मा आलम पत्नीको उम्मेदवारी दर्ता


३ कात्तिक, वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेले महमुद आलमकी पत्नी नजमा खातुनलाई उम्मेदवार बनाएको छ । यसअघिका उम्मेदवार महमुद आलमको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि एमालेलाई आइतबारको समय दिएको थियो । कलैयास्थित क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा एमालेका जिल्ला स्तरीय नेताहरुसहित पुग्नु भएकी खातुनले उम्मेदवारी दर्ता गराउनु भएको हो । केन्दि्रय कार्यालयको निर्णय अनुसार खातुनले उम्मेदवारी दर्ता गराएको नेकपा एमाले बाराले जनाएको छ । असोज १७ गते उम्मेदवारी दर्ता गराएको भोलिपल्टै आलममाथि असोज १८ गते अज्ञात हतियारधारी समुहले बाराको लिपनीविर्तामा गोली हानेको थियो । कन्चटमा गोली लागि गम्भिर घाइते भएका आलमको काठमाडौंस्थित शिक्षण अस्पताल महराजगञ्जमा उपचारका क्रममा असोज २४ गते मृत्यु भएको थियो । बारा ४ मा अन्य दलका उम्मेदवार भने पुरानै रहने छन् । आयोगले सोमबार उम्मेदवारविरुद्ध दावी विरोधका लागि समय दिइने आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभएको छ । कात्तिक ५ गते उम्मेदवारी फिर्ताका लागि समय दिइने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.