सेनाको गोली छातीमा थाप्ने लिङ्देनको धम्की

कात्तिक, काठमाडौं । सक्रिय चुनाव बहिस्कारको घोषणा गरेको ३३ दलीय मोर्चामा आवद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेनले निर्वाचनमा सेना परिचालन गरिएकोमा आपत्ति जनाउँदै सेनाको गोली
छातीमा थाप्न तयार रहेको बताउनुभएको छ ।photoimg.php

चुनावको सुरक्षाका लागि नेपाली सेना फिल्डमा खटिएको भोलिपल्टै सोमबार लिङ्देनले प्रेस वक्तव्यमार्फत् यस्तो धम्की दिनुभएको हो । लिङदेनद्वारा जारी वक्तव्यमा भनिएको छ- ‘नेपाललाई बचाउन संघीय सहअस्तित्ववादी बिचार धारा र सबै दल सहभागी हुनको लागि चैत्रमा चुनाब गरौं भन्ने आवाज उठाउँदा नै सेना ,सशस्त्र, प्रहरीको गोली खानु पर्ने हो भने ती गोलीहरु छातीमा थाप्न र गोली, बारुदलाइ चिर्दै नौ जिल्ला लिम्बुवानको आन्दोलनलाइ अझ उचाइका साथ अघि बढाउन सदा तत्पर रहेको उद्घोष गर्दछौं ।’ लिङ्देनले मंसिर ४ को चुनाव सक्रियरुपमा बहिस्कार गर्ने जनाउनुभएको छ ।
कति छ कुमार लिङ्देनको शक्ति ?
पूर्वी नेपालमा क्षेत्रीय पार्टीका रुपमा रहेको कुमार लिङ्देनको चुनाव बहिस्कारसम्बन्धी गतिविधि वैद्य माओवादीको भन्दा प्रभावकारी हुन सक्ने ३३ दलको विगतको आन्दोलन र गत चुनावमा लिङ्देनको दलको लिम्बुवान क्षेत्रमा देखिएको प्रभावबाटै आँकलन गर्न सकिन्छ । र, यही कारणले सरकारले मेची अञ्चलका सबै र कोशीका धनकुटा तेह्रथुम लगायतका जिल्लालाई संवेदनशील जिल्लाका रुपमा राखिसकेको छ ।
यतिबेला वैद्य माओवादीतिर लागेर निर्वाचन बहिस्कार गरेको लिङ्देनको मञ्चसम्वद्ध लिम्बुवान राज्य परिषद्ले अघिल्लो चुनावमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ब्यानरमा चुनाव लडेको थियो । लिङ्देनको पार्टी देशभरिबाट कुल ३६ हजार ६० मत ल्याएर १८ औं स्थानको दलका रुपमा स्थापित भएको थियो । त्यसबेला उसले प्रत्यक्षतर्फ करिब ४० सीटमा उम्मेद्वारी दिएको थियो भने समानुपातिकमा ९४ जनाको सूची निर्वाचन आयोगमा बुझाएको थियो । अहिल कुमार लिङ्देनले नेतृत्व गरेको मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् सोही मञ्चको एउटा प्रमुख हाँगो हो । अझै पनि यो दलको प्रभाव मेची र कोशीका केही जिल्लाहरुमा चौथो शक्तिका रुपमा छ ।limbuwan-map
गत चुनावमा ताप्लेजुङमा लिङदेनको दलले ४ हजार ३ सय मत ल्याएर चौथो दलको रुपमा आफूलाई उभ्याएको थियो । पाँचथरका दुबै क्षत्रेमा उसले ७ हजार मत ल्याएर एमाओवादी, कांग्रेस र एमालेपछिको चौथो दल बनेको थियो । कुमार लिङदेनले पाँचथर २ मा ४ हजार ९९ मत ल्याउनुभएको थियो । त्यसैगरी इलाम जिल्लामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले लगभग २२ सय मत पाएको थियो । झापामा पहाडको भन्दा थोरै मत आएको थियो । झापामा लिङ्देनको दलको मत ५ हजारभन्दा बढी थियो ।
त्यसैगरी लिङदेनको पार्टीले गत चुनावमा तेथ्रथुममा पनि चौथो दलको स्थान पाएको थियो । त्यहाँ उसले १७ सय मत पाएको थियो । धनकुटामा ३ सय ८७, मोरङमा २३ सय र सुनसरीको एउटा क्षेत्रमा २ सय ९७ मत आएको थियो ।
चुनावमा भाग लिएका सन्दर्भमा उसको यो मत खासै प्रभावकारुी नभए पनि मेची र कोशीका ९ जिल्लामा निर्वाचन विथोल्न वा बन्द हड्ताल गर्नका लागि कुमार लिङ्देनको यो शक्तिलाई सामान्य ठान्न मिल्दैन ।
छापामार शैलीले गर्ने वितन्डताहरुका लागि यो शक्तिलाई नजर अन्दाज गर्न मिल्दैन । चुनावै लड्दा पनि मेची र कोशीका पहाडी क्षेत्रमा कुमार लिङ्देनको पार्टी अहिले पनि एमाओवादी, कांग्रेस र एमालेपछिको चौथो शक्तिमा आउन सक्ने अनुमान गर्न सकिन्छ । किनभने उसले जातीय नाराका आधारमा विगतको तुलनामा पूर्वमा आफ्नो संगठन थप विस्तार गरेको छ ।
विगतको चुनावमा लिङदेनको मञ्चले बाँके, दाङ, मकवानपुर, सिन्धुपाल्चौक, काभ्रे, ललितपुर, नुवाकोट, सिन्धुली, रामेछाप, दोलखा, सप्तरी र सिरहामा पनि उम्मेद्वारी दिएको थियो । उही देव्यापी भोटका आधारमा रुक्मिणी चौधरी र राजकुमार नाल्बो सभासद बनेका थिए । तर, यतिबेला नाल्बो र चौधरी दुवैले लिङदेनको साथ छाडिसकेका कारण सप्तकोशी भन्दा पश्चिमका जिल्लामा लिङ्देनको प्रभावकारी शक्ति छैन । चुनाव विथोल्ने उसको शक्ति भनेको कोशी नदी पूर्वमात्रै हो ।
तर, लिम्बुवानमा मात्रै लिङ्देनको प्रभाव भए पनि खम्बुवान क्षेत्रमा खम्बुवान राष्ट्रिय मोर्चासमेत ३३ दलमा रहेकाले त्यहाँको चुनावी सुरक्षा पनि चुनौतीपूर्ण छ । तर, खम्बुवानका आन्दोलनकारीहरु लिम्बुवानमा जस्तो आक्रामक छैनन् ।
३३ दलीय मोर्चाको नेतृत्व गरिरहेको वैद्य समूहमा नेता र कार्यकर्ता रहे पनि संघीय लिम्बुवान राज्य परिषदको जस्तो बहिस्कारका लागि उनीहरु खासै आक्रामक देखिएका छैनन् । त्यसैले आगामी चुनावमा पूर्वी नेपालको यो शक्ति वैद्य भन्दा पनि कडा चुनौती बन्न सक्छ भन्ने कुरा लिङदेनको सोमबारको वक्तव्यले प्रष्ट पारेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.