बैद्य माओवादीका नेता उच्च निगरानीमा
६ कात्तिक, काठमाण्डौं ।निर्वाचनको समय नजिकिँदै गर्दा नेकपा–माओवादीका नेता तथा कार्यकर्ताहरू सुरक्षा निकायको उच्च निगरानीमा परेका छन् । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसहित २ सय ५० जना नेता तथा कार्यकर्ता उच्च निगरानीमा परेका हुन् । यसरी निगरानीमा पर्नेमा माओवादी उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिवद्वय नेत्रविक्रम चन्द र देव गुरुङ, प्रवक्ता पम्फा भुसाल, खड्गबहादुर विश्वकर्मालगायत छन् ।

पछिल्लो पटक काभ्रे, बागलुङ, सिरहा,
पाँचथर, सल्यान, रुकुमलगायतका जिल्लामा प्रहरीको राजनीतिक अन्वेषण ब्युरोले
प्रत्येक गतिविधिबारे मन्त्रालयलाई जानकारी गराउने गरेको छ ।
नेकपा–माओवादीबाट हुन सक्ने निर्वाचनविरोधी कार्यक्रम तथा उग्र गतिविधि
हुने स्थलमा समेत सादा पोसाकका सुरक्षाकर्मी खटिने गरेका छन् । प्रहरी
प्रधान कार्यालय उच्च स्रोतका अनुसार आमहडताल तथा बन्दजस्ता कार्यक्रम अघि
सारी जनतालाई मतदान गर्ने प्रक्रियाबाट वञ्चित गर्न खोजे सुरक्षाकर्मी
सक्रिय हुने भएकाले त्यस्तो बेला जस्तो परिस्थितिमा पनि जनताको सुरक्षा
गर्ने जनाएको छ ।
‘शान्तिपूर्ण विरोधमा हस्तक्षेप हुँदैन तर
अवरोध, आक्रमण वा बिथोल्न खोजे कारबाही हुन्छ, त्यसअघि नै उनीहरूलाई
नियन्त्रणमा समेत लिन सकिन्छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।
आवश्यक परे नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले निगरानीमा परेका सबै
नेता तथा कार्यकर्तासहित पार्टी कार्यालय तथा जिल्लास्थित नेताहरूको
अवस्थाबारे सूचना संकलन गरिसकेको छ । ‘प्रहरी निकै अभ्यस्त भइसकेको छ,
सार्वजनिक स्थलहरूमा उपस्थिति, नेकपा–माओवादीले गर्न सक्ने आक्रमण र
क्षतिबारे पनि प्रहरीले आंकलन गर्दै उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेका
छौं,’ स्रोतले भन्यो ।
पहाडी तथा मध्यपहाडी र सुदूरपहाडी
जिल्लाहरूमा नेकपा–माओवादीको प्रभाव पर्न सक्ने प्रहरीको विश्लेषण छ । ती
जिल्लामा पर्याप्त सुरक्षाकर्मी खटाउने, आमहडतालअघि नै उनीहरूको गतिविधिलाई
निस्तेज पार्ने प्रहरीको विशेष योजनासमेत रहेको छ । तिहारलगत्तै प्रहरी
प्रधान कार्यालयले सबै मातहत निकाय र एकीकृत निर्वाचन सुरक्षा
योजनाअन्तर्गत परिचालित भएका सुरक्षाकर्मी पनि नेकपा–माओवादीले उत्पन्न
गराउन सक्ने निर्वाचनविरोधी गतिविधिविरुद्ध खटिने भएका छन् ।
![]() |
0 comments
Write Down Your Responses