बैंकबाटै घूसको लेनदेन !

६ कात्तिक, काठमाण्डौं । केही वर्षअघिसम्म तोकिएको ठाउामा भेट्दा र नगदको मुठो दिएर आफ्नो काम फत्ते गराउने ‘घूसखोरी’ पद्धति प्रचलनमा थियो । तर अख्तियारलगायतका निकायको निगरानी र पक्राउ पर्ने जोखिम बढेपछि बैंकमार्फत आफन्तको खातामा रकम जम्मा गर्न लगाएर घूस खाने प्रवृत्ति बढेको छ । मेडिकल कलेजको लेखापरीक्षणका क्रममा कम्पनी रजिष्ट्रार कार्यालयका एक उपरजिष्ट्रार र लेखापरीक्षकले बैंक खातामा ‘ घूस ‘ जम्मा गराएरै बदनियतपूर्ण काम गरेको भेटिएको हो ।
ghusचितवन मेडिकल कलेजमा आर्थिक हिनामिना भएको भन्ने उजुरी आधारमा कम्पनी रजिष्ट्रार कार्यालयले छानबिनका लागि चाटर्ड एकाउन्टेन्ड भानु कँडेललाई लेखा परीक्षक नियुक्त गरेको थियो । कार्यालयका उपरजिष्ट्रार लालबाबु कबारीको मिलेमतोमा कँडेलले सोझै मेडिकल कलेजका सञ्चालकसँगै गएर अनियमितताका कुरा प्रतिवेदनमा नलेख्ने भए एक करोड रुपैयाँ घूस चाहिन्छ भन्ने मोलमोलाई गरेको अख्तियारको छानबिनबाट खुलेको छ । ‘बैंकखाता प्रयोग गरेर उपरजिष्ट्रार कबारी र लेखापरीक्षक कँडेलले घूस खाएको देखिन्छ,’ अख्तियारका एक अधिकृतले भने, ‘परम्परागत शैलीको सट्टा बैंकखाता प्रयोग गरेर गरिएको घूस खोरी हाम्रा लागि पनि नौलो अनुभव हो ।’
कबारी र कँडेलले चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपानेलाई करकापमा पारेर घूस खुवाउन बाध्य पारेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । स्रोतबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार, अनावश्यक दबाब दिएपछि न्यौपानेले अख्तियारमा जानकारी दिएर उनीहरूले मागेको रकम आफन्तको बैंक खातामा राखिदिएका थिए । ‘दुवैले चलाखीपूर्वक नजिकको व्यक्तिको खाता नम्बर दिएर रकम माग गरेको देखिन्छ,’ ती अधिकृतले भने, ‘मेडिकल कलेज सञ्चालकबाट विस्तृत विवरण नआएको भए छानबिनबाट पनि नभेटिने गरी उनीहरूले सतर्कता अपनाएका थिए ।’ अख्तियारका अनुसार लेखापरीक्षक भानुले १५ लाख र कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार कबारीले ५ लाख ‘ घूस ‘ लिएको कान्तपुर दैनिकमा खबर छ ।
अख्तियार प्रवक्ता श्रीधर सापकोटाले नयाँ ढंगबाट घूस खोरी प्रवृत्ति बढेको टिप्पणी गरे । ‘समाजमा प्रविधि र सुविधाको विकाससँगै आर्थिक अपराधमा पनि नयाँ शैली र तरिका प्रयोग हुन्छ भन्ने यो घटनाले देखाएको छ,’ उनले भने ।
घूस लिने क्रममा उपरजिष्ट्रार कबारीले आफ्नी छोरीको संस्था एचआर ह्युमन रिसोर्सका म्यानेजर आविद अलिका सहायक शिव श्रेष्ठको खाता प्रयोेग गरेको भेटिएको छ । उक्त रकम श्रेष्ठले अलिलाई र अलिले राजदरबार पछाडिको स्थानमा कबारीलाई बुझाएको खुलेको छ ।
कँडेलले आफ्ना साथी दिनेश अर्यालकी श्रीमती विन्दु शर्माको बानेश्वरस्थित एभरेस्ट बैंकको खाता प्रयोग गरेर घूस लिएका थिए । घूस का लागि कबारीले मेडिकल कलेजका सञ्चालक न्यौपानेको मोबइलमा पटक-पटक सांकेतिक भाषामार्फत म्यासेज आदानप्रदान गरेको खुलेको छ ।
दिनेशले उक्त रकम कँडेललाई अनामनगरस्थित कार्यालयमै बुझाएको पुष्टि भएको छ । चलखेलका कारण विन्दुले केही थान खाली चेकमै हस्ताक्षर गरेर श्रीमान्लाई बुझाउनुपरेको बयान दिएकी छन् । केयर नेपाल नामक संस्थामा आबद्ध भएकाले ‘एक व्यक्ति, एक पेसा’ को नियमका कारण अनुमतिपत्र रोक्का भए पनि कँडेलले नियमविपरीत लेखापरीक्षण गरेको भेटिएको छ । छानबिनका क्रममा संलग्नता पुष्टि भएपछि कँडेलले आफूलाई दिनेशले फँसाएको बयान दिएका छन् ।
मेडिकल कलेजमा अनियमितता भएकाले आफू छानबिनमा आएको बताएका लेखापरीक्षक कँडेलले सुरुमा मोलमोलाइकासाथ रकम दिए सकारात्मक प्रतिवेदन पेस गर्ने आश्वासन दिएको बयानका क्रममा खुलेको छ । बारम्बार दबाब दिएपछि आफूहरू बाध्य भएर अख्तियारलाई पूर्वसूचना दिई घूस खुवाएको कलेजका सञ्चालक न्यौपानेले बताए । अख्तियारले बैंकमा रकम साटाको सीसीटीभी र कुराकानीको अडियो रेकर्ड पनि बरामद गरेको छ । खातामा रकम राखिदिएपछि तीन जनाबीच होटल हिमालयनमा भेट भएको खुलेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.