हारेका उमेद्वार फेरि मतदाताको घरदैलोमा
१४ मंसिर, काठमाडौं । दोस्रो संविधानसभा निर्वाचनमा पराजित उमेद्वारहरु आफूलाई मत दिने मतदातालाई धन्यवाद दिन भन्दै फेरि घरदैलो अभियानमा निस्किएका छन् ।
काठमाडौं क्षेत्र नं. ९ मा कांग्रेस
उमेदवार ध्यानगोविन्द रञ्जितसँग पराजित हुनुभएका एमाले उमेद्वार कृष्णगोपाल
श्रेष्ठले दैनिक पत्रिकामा आभार-पत्र प्रकाशित गरेर मतदातालाई धन्यवाद
दिंदै चाँडै मतदाताको घरदैलोमा आउने प्रतिवद्धता जनाउनुभएको छ । ‘मलाई मत
दिनुहुने सबै मतदातालाई धन्यवाद दिन्छु, जनता आमा हुन्- कहिले रिसाउँछिन्,
कहिले गाला मुसार्छिन्’ श्रेष्ठले भन्नुभएको छ, ‘म पराजित भएपनि मेरो
स्थानबाट संविधानसभामा जानेले दलित, जनजाति, महिला र पिछडिएका वर्गको
संविधान बनाउन भूमिका खेलुन्, म भने अहिले पनि जनताको साथमै छु ।’
मकवानपुर २ बाट पराजित एमाओवादी नेता
नारायणकाजी श्रेष्ठले राजनीतिमा हारजीतलाई सामन्य भन्दै चुनावमा आफूले हारे
पनि आफूलाई मत दिनेहरुप्रति आभार प्रकट गर्नुभएको छ । ‘मलाई मत दिने सबै
मतदातालाई म धन्यवाद दिन्छु, मतदातालाई धन्यवाद नि म चाँडै घरदैलोमा पनि
आउनेछु ।’ नेता श्रेष्ठले भन्नुभएको छ ।
मकवानपुरमा विजेता उमेद्वारहरुसँगै पराजित
उमेदवारहरु पनि अहिले घरदैलो अभियानमा छन् । मकवानपुर १ बाट विजयी
कांग्रेसका उमेदवार इन्द्र बानियाँ, २ बाट विजयी एमालेका सुवाससिंह ठकुरी, ४
बाट विजयी राजाराम स्याङ्तानसँगै उनीहरुका पराजित उमेद्वाहरु पनि
मतदातालाई धन्यवाद दिन घरदैलो अभियानमा छन् ।
मकवानपुरबाट पराजित उम्मेद्वारहरु
कांग्रेसका रघुरमण न्यौपाने र राप्रपा नेपालका दीपकबहादुर सिंह मतदाताको
घरदैलोमा लाग्नुभएको छ । विजेतासँगै पराजित उमेदवारहरु पनि घरघरमा आएपछि
मतदातासमेत खुसी भएका छन् । ‘एउटा निर्वाचनमा हारेका छौं, राजनीतिमा हारेको
होइन ।’ उमेद्वार न्यौपानेले भन्नुभयो, ‘चुनाव हारेपछि मतदाताकहाँ पुग्दा
हामीलाई भव्य स्वागत गर्नुभएको छ ।’
पूर्वी नेपालको पहाडी जिल्ला ओखलढुंगामा
पनि विजयी उमेदवारसँगै पराजित उमेदवारहरु पनि घरदैलो अभियानमा छन् ।
ओखलढुंगा १ बाट पराजित हुनुभएका कांग्रेस उमेदवार बालकृष्ण दाहाल जनताको
साथमै रहेर काम गर्ने प्रतिवद्वता जनाउँदै घरदैलो अभियानमा जुट्नुभएको छ ।
कांग्रेस नेतासमेत रहनुभएका दाहालले जिल्लाको विकास र संविधान निर्माणका
लागि आफ्नो पूर्ण साथ र सहयोग रहनु बताउनुभएको छ ।
एमाले उमेद्वार यज्ञराज सुनुवारसँग पराजित
हुनुभएका दाहालले ओखलढुंगा सदरमुकाममा पत्रकार सम्मेलन गरेरै हार सहर्ष
स्वीकार्नुभएको थियो । ‘संविधान निर्माणमा मेरो प्रत्यक्ष संलग्नता नभएपनि
जिल्लाको विकासका लागि म निरन्तर कृयाशील रहनेछु ।’ दाहालले पत्रकार
सम्मेलनमा भन्नुभएको थियो ।
रुपन्देही १ र ३ बाट कांग्रेसका उमेद्वारसँग पराजित एमाले पोलिटव्यूरो
सदस्य छविलाल विश्वकर्मा र एमाले केन्द्रीय सदस्य घनश्याम भुसाल आ-आफ्ना
क्षेत्रका मतदातालाई धन्यवाद दिन व्यस्त बन्नुभएको छ ।क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांडसँग ८६ मतले पराजित भुसालले आफू संविधानसभामा नगएपनि संविधान निर्माणमा भूमिका निर्वाह गर्ने बताउनुभएको छ । ’प्राविधिकरुपमा म पराजित भएपनि संविधान निर्माणको लागि पार्टीबाबाट सक्दो सहयोग पुर्याउने छु,स्थानीय विकासको लागि व्यक्तिगतरुपमा निरन्तर लागिपर्नेछु ।’ भुसालले भन्नुभयो ।
त्यस्तै क्षेत्र नं. १ मा कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकसँग २ सय ४ मतले पराजित एमाले उम्मेद्वार विश्वकर्मा पनि मतदातालाई भेट्दै जनताको सुखदुखको साथी बन्ने बताउनुभएको छ । रुपन्देही ४ बाट पराजित एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले पनि शुक्रवार सो क्षेत्रका मतदातालाई भेटेर आफुलाई दिएको मतप्रति आभार व्यक्त गर्नुभएको छ ।
सल्यान क्षेत्र न २ बाट पराजित हुनुभएकी
नेपाल परिवार दलकी उमेदवार योगमाया घर्तीले पनि घरदैलो थाल्नुभएको छ ।
व्यक्तिगत स्वार्थका लागि राजनीति नगरेको बताउँदै घर्तीले मतदाताको घरसम्म
पुग्दै एक विद्यालयलाई १७ लाख ३० हजार बराबरको सहयोग गर्नुभएको छ ।
मतदातालाई धन्यवाद दिंदै घरदैलो अभियान पछि घर्तीले २ लाख ३० हजार रुपैयाँ र
१७ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्नुभएको हो ।
अघिल्ला निर्वाचनमा पराजित भएपछि
मतदातालाई गाली गर्दै हिँड्ने कु-प्रथालाई तोड्दै पराजित उमेदवारहरु
चुनावपछि मतदाताको घरमा पुगिरहेका छन् । विजयी उमेदवार जितको खुसीमा
मतदाताकहाँ पुगिरहँदा पराजितहरु भने अर्को पटक आफूलाई जिताउन आग्रह गर्दै
मतदाताको घरमा पुग्न थालेका हुन् ।
विजयी उम्मेदवारजस्तै अघिपछि कार्यकर्ता
लगाएर मतदातालाई धन्यवाद दिन पराजित उमेदवारहरु घर दैलो अभियानमा लागेका
हुन् । पराजित उमेदवारहरु हारलाई सहर्ष स्वीकार्दै ‘छायाँ सभासद’ बनेर काम
गर्ने प्रतिवद्वता गर्ने चुनावपछि गाउँ छिरिरहेका हुन् ।
चुनाव जितेका उमेदवारहरुले गाउँलाई माया
मार्ने गुनासो आइरहेका बेला पराजित उम्मेदवारहरु पनि विज्ञप्ति निकालेर,
मिडियाबाट र घरदैलोमै पुगेर आफूलाई भोट दिने मतदातालाई धन्यवाद दिन व्यस्त
बनेका छन् ।
0 comments
Write Down Your Responses