समाचार
»
प्रचण्डले भने- ‘जनता रिसाएरै हामीलाई बढारे’
प्रचण्डले भने- ‘जनता रिसाएरै हामीलाई बढारे’
|
|
१० मंसिर, काठमाडौं । निर्वाचनमा पराजय हुने देखेपछि धाँधली भएको भन्दै संविधानसभामै नजाने निर्णय सार्वजनिक गरेको एमाओवादीका अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक बैठकमा भने ‘जनता रुष्ट भएर आफूहरुलाई बढारिदिएको’ बताएका छन् ।
पूर्व पोलिटव्युरो तथा राज्य इन्चार्जहरुको शनिबार सुरु भएको बैठक र त्यसअघिका आन्तरिक छलफलमा प्रचण्डले सार्वजनिक वक्तव्य दिएविपरीत आफूहरुसँग ‘जनता रिसाएको’ बताएका थिए । ‘जनता रिसाएकै हुन तर ठाउँठाउँमा छलछाम र षड्यन्त्र पनि भएकै हो,’ उनले चुनावी परिणामबारे आफ्नो मूल्यांकन यसरी सुनाएको अन्नपूर्ण पोस्टमा खबर छ ।
केही पूर्वपोलिटव्युरो सदस्य एवं वुद्धिजिवीले मतगणना बहिष्कार र संविधानसभामा नजाने घोषणा गर्दा पार्टीलाई झन क्षति पुगेको बताएका थिए । प्रचण्डले त्यस्तो धारणा तत्कालका लागि ल्याउनु आवश्यक भएको जिकीर गरेको स्रोतले बताएको छ ।
पार्टीको आगामी रणनीतिबारे उनले सबैसँग धारणा माग्दै भनेका थिए, ‘संविधानसभा प्रतिक्रियावादीहरुको थलो बन्यो, भन्डारफोर गरेर जाऔं भन्ने नीति लिनु पनि उचित हुँदैन, हाम्रा मुद्दा स्थापित गराउन कसरी भूमिका निर्वाह गर्न सकिन्छ सुझाव दिनुहोला ।’
संविधानसभामा जानचाहिँ जाने नै हो भन्दै उनले लुरुलुरु नजाने बरु कांग्रेस र एमालेलाई आफ्ना अजेन्डामा सहमति गराएर मात्र सहभागी हुने वातावरण बनाउन प्रयास गर्ने बताएका थिए ।
राष्ट्रपति, युरोपेली संघ, अमेरिकी र भारतीय राजदूत सबैले निर्वाचन परिणाम अनपेक्षित आए पनि आफूलाई नै आगामी दिनको पनि मुख्य व्यक्तित्व भएकाले संविधानसभाबाट पार्टी बाहिर बस्न नहुने सुझाव दिएको सुनाउँदै प्रचण्डले १२ बुँदे सहमतिदेखि संविधानसभा निर्वाचनसम्मका सबै प्रक्रियाबाट बाहिरिने अवस्थामा पार्टी पुग्न नहुने तर केही न केही उपलब्धी लिएरमात्रै संविधानसभामा जानुपर्ने धारणा राखेका र्थि । उनले निर्वाचनमा छलछाम र षड्यन्त्र पनि भएकै हो भन्ने जनतामा स्थापित गर्ने र पार्टीपंक्तिभित्र हामी कमजोर भएकै हो, जनताले बढारेकै हुन भनेर तलदेखि माथिसम्म सुधार गर्ने आगामी रणनीति हुने बताएका थिए ।
प्रचण्डले पार्टी बैठक अघि खगेन्द्र संगौला, हरि रोक्का, युग पाठक, राजेन्द्र महर्जन, सोमत घिमिरेलगायतका लेखक तथा अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका संघीय समाजवादी पार्टीका नेतासँग छुट्टाछुट्टै भेट गरी भावी कमदबारे जानकारी गराएका थिए ।
|
|
0 comments
Write Down Your Responses