अख्तियारको हिरासत भरिएपछि न्यौपाने सिंहदरबारमै


१३ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका सरकारी कर्मचारीहरुलाई थुन्ने हिरासत पर्याप्त नभएपछि पछिल्ला बन्दी आयल निगम कर्मचारी नेता देवीप्रसाद न्यौपानेलाई सिंहदरबार महानगरीय प्रहरी वृत्तमा राखिएको छ । न्यौपानेलाई उहाँकी श्रीमती एवं अधिवक्ता मीरा ढुंगानालेसमेत भेट गर्न पाउनुभएको छैन । ‘मलाई प्रहरीले आफ्ना श्रीमानसँग भेट गर्न दिएन ।’ पति भेट्न दुईजना वकिल लिएर शनिबार सरकारी विदाका दिन सिंहदरबार प्रहरी कार्यालय पुग्नुभएकी अधिवक्ता ढुंगानाले अनलाइनखबरसँग भन्नुभयो, ‘कानूनव्यवसायीले समेत भेट्न पाउनुपर्नेमा परिवारका सदस्यलाईसमेत भेट गर्नबाट रोक लागाइयो ।’ अख्तियारका थुनुवा न्यौपानेलाई भेट्न अधिवक्ता ढुंगानासँगै अधिवक्ताद्वय ओमप्रकाश अर्याल र सुरेन्द्र थापा प्रहरी कार्यालयमा पुग्नुभएको थियो । तर, प्रहरी कार्यालयका डीएसपीले तीनैजना अधिवक्तालाई न्यौपाने अख्तियारका थुनुवा भएकाले अख्तियारकै अनुमतिविना आफूले कसैलाई भेट्न नदिने बताएको अधिवक्ता अर्यालले अनलाइनखबरलाई बताउनुभयो । ‘प्रहरीको यस्तो व्यवहारले संविधानको बर्खिलाप गरेको छ, अभिवक्ताले थुनुवालाई भेट्न पाउनुपर्छ’, अर्यालले भन्नुभयो-’झन् परिवारको सदस्यलाईसमेत भेट्न नदिनु भनेको ठूलो अन्याय हो, मीरा दिदीले समेत आफ्नो श्रीमानलाई भेट्न पाउनुभएन ।’ कर्मचारीले बोनस खान पाउनुपर्छ र गिरफ्तार गरिएका अख्तियारका हाकिमहरुको रिहाइ गरिनुपर्छ भन्दै आन्दोलन गरेको आरोपमा तीनदिनअघि अख्तियारको गिरफ्तारीमा पर्नुभएका न्यौपानेलाई छुटाउन वकिलहरुले सर्वोच्च अदालतमा रीट दायर गर्ने तयारी गरेको बुझिएको छ । उता कर्मचारी संगठनका प्रमुख पक्राउ परेपछि एमाओवादी, कांग्रेस र एमाले समर्थित सबै कर्मचारीहरुले अख्तियारलाई आफूहरु बोनश फिर्ता गर्न तयार रहेको भन्दै न्यौपानेलाई छाडिदिन आग्रह गरेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.