पूर्व राजपरिवारका नाममा चन्दा आतंक

दाङ- संविधान सभा निर्वाचन नजिकिँदै जाँदा जिल्लामा चन्दा आतंक सुरु भएको छ। सहयोगका नाममा यहाँका ब्यवसायीसँग रकम तोकेरै माग गर्न थालिएको हो। पछिल्लो सातायता चुनावविरोधी राजनीतिक दलदेखि पूर्वराज परिवारको नाममा चन्दा माग गर्ने क्रम बढ्दै गएको व्यवसायीहरु बताउँछन्। तोकेरै रकम माग गर्ने क्रम बढ्न थालेपछि व्यवसायीहरु आतंकीत बनेका छन्।
विशेषगरी जिल्लाको तुलसीपुर क्षेत्रमा चन्दा माग गर्ने समूहहरु बढी सक्रिय रुपमा लागेका छन्। व्यवसायीहरुका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहर पूर्व युवराज पारसको समेत नाम जोडेर चन्दा माग गर्नेक्रम बढेको छ। पछिल्लो समयमा टेलिफोनमार्फत् ज्ञानेन्द्र शाह र पारसको परिचय दिँदै रकम तोकेर चन्दा माग गर्ने समूह सक्रिय बनेको तुलसीपुरस्थित एक ब्यवसायीले जनाए। 

'ज्ञानेन्द्र शाह र पारस शाहका नाममा चन्दा माग्छन्,'तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विमल रिजालले नागरिकसँग भने, 'रकम तोकेरैचन्दा दिन धम्की दिन थालेका छन्।संगठन विस्तारका लागि भन्दै शाहको परिचय दिनेले रकम माग्ने गरेको रिजालले जनाए। जिल्लामा पूर्व राजा र पूर्व युवराजको नाममा चन्दा माग गरिएको यो पहिलो पटक हो। 

यसअघि अन्य विभिन्न समूहको नामबाट चन्दा माग गर्ने गरिएको भए पनि ज्ञानेन्द्र शाह र पारसको परिचय दिँदै रकम माग गरीएको थिएन। 'यसअघि ज्ञानेन्द्र शाह र पारसको नामबाट चन्दा माग्ने गरिएको थिएन,' रिजालले भने,'यो पहिलो हो।'

यसैगरी चन्दा माग गर्ने अन्यले अपराध मुद्दामा पक्राउ परेकाहरुको रिहाइका लागि रकम माग्ने गरेका छन्। केही दिनअघि बालक अपरहणमा पक्राउ परेकालाई छुटाउनुपर्ने भन्दै रकम माग गर्नेको टेलिफोन बढी आउने गरेको व्यवसायीहरु बताउँछन्। झण्डै डेढ महिनाअघि तुलसीपुर दुधेनास्थित एक विद्यालयका दुई जना बालक अपहरणमा परेका थिए। 

सोही घटनामा पक्राउ परेकालाई छुटाउन चन्दा माग गर्ने गरिएको रिजालले बताए। उक्त घटनामा संलग्न १ जना पूर्पक्षका लागि जेल चलान भएका छन्। यसअलावा अन्य विभिन्न नाम बताउने समूह्समेत संगठन बिस्तारका लागि भन्दै चन्दा असुलीमा सक्रिय देखिएका छन्।  

संगठन विस्तार तथा पक्राउ परेका कार्यकर्ता रिहाइका लागि चन्दा माग्ने समूहले रकम तोक्ने गरेका छन्। तुलसीपुर क्षेत्रका दर्जन बढी व्यापारीलाई अहिले चन्दाका लागि रकम तोकिएको छ। रिजालका अनुसार २० हजारदेखि एक लाख रुपैयाँसम्म रकम तोकेर मागीएको छ। सामान्य ब्यापारीलाई कम रकम तोकीएको छ भने प्रतिष्ठित व्यवसायीलाई बढी रकम तोकिएको रिजालले बताए। 'यस (तुलसीपुर) क्षेत्रका एक दर्जन बढी व्यापारीसँग रकम मागिएको छ,'उनले भने, '२० हजारदेखि एक लाखसम्म रकम तोकिएको छ।तर हालसम्म कुनै व्यवसायीले पनि रकम बुझाएका छैनन्। 

चन्दा असुलीमा संलग्न यस्ता समूहसँगै चुनावविरोधी नेकपा-माओवादीले समेत व्यवसायीसँग रकम मागेको छ। चुनाव बहिस्कारका लागि रकम आवश्यक पर्ने भन्दै माओवादीले व्यवसायीसँग चन्दा मागेको हो। उसले व्यवसायीलाई चन्दाका लागि पत्र नै काटेको छ। चुनाव बहिस्कारका लागि नेकपा-माओवादीले पनि पत्र काटेको छ,'रिजालले भने, 'अधिकांश प्रतिष्ठित व्यवसायीलाई पत्र काटिएको छ।'

यसअघि पनि चन्दा आतंक अत्यधिक हुने तुलसीपुर क्षेत्रमा प्रशासनले सुरक्षा व्यवस्थालाई कडाई गरेको जनाएको छ। प्रशासनले तुलसीपुर क्षेत्रलाई सुरक्षा संवेदनशिल क्षेत्रमा रुपमा लिने गरेको छ। सुरक्षा चेकजाँच कडाई गरेको प्रशासनले तुलसीपुर क्षेत्रबाट दिनहुँ जसो खुकुरीसहितका युवालाई नियन्त्रणमा लिने गरेको प्रमुज जिल्ला अधिकारी रविलाल पन्थले जनाए। यद्यपि चन्दा आतंकका विषयमा आफूलाई कुनै जानकारी नआएको समेत उनले बताए। 

0 comments

Write Down Your Responses

Powered by Blogger.