गोली लागेर भारतीय नागरिक घाइते

काठमाडौं - अज्ञात समूहले राजधानीको जोरपाटी नारायणटारमा गोली चलाउँदा एक जना घाइ‍ते भएका छन् । डेराबाट निस्केर जोरपाटी चोकमा पैदल आउँदै गर्दा आज बिहान ९ बजेतिर भारत मोतीहारी घर भएका कपडा सिलाईको काम गर्ने समसुल्ल्लाहमाथि गोली हानिएको बौद्ध प्रहरी वृतका डिएसपी मनोज केसीले बताए । प्रत्यक्षदर्शीका अनुसार पैदलै आएका तराईमूलका जस्तै देखिने २ जनाले समसुल्ल्लाहलाई गोली हानेका थिए । गोली हानिसकेपछि भने उनीहरु मोटरसाइकल चढेर भागेका थिए । घटनास्थलबाट प्रहरीले गोलीको खोका बरामद गरेको छ । जोरपाटी चोकमा सडक पेटीमा कपडा सिलाएर गुजारा चलाइरहेका र आर्थिक अवस्था कमजोर भएको समसुल्लाहमाथि किन गोली हानियो खुल्न नसकेको डिएसपी केसीले बताए । समसुल्लाहको खुट्टा र पेटमा २–२ गोली लागेको छ । उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । समसुल्लाह सामान्य बोल्न सक्ने भएपनि स्वास्थ्य अवस्था भने गम्भीर रहेको चिकित्सकको भनाइ उद्घृत गर्दै प्रहरीले बताएको छ। घटनाको अनुसन्धान भइरहेको बौद्ध प्रहरी प्रमुख डीएसपी केसीले जानकारी दिए। उनले भने, 'अनुसन्धान सुरु गरिसकेका छौं। गोली हान्नुको कारण खुल्न सकेको छैन।'

0 comments

Write Down Your Responses

Powered by Blogger.