डेढ सय क्षेत्रमा अगाडि छौं : खनाल

इलाम– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले व्यापक कार्यकर्ता परिचालन र स्पष्ट एजेन्डा भएकाले संविधान सभा चुनावमा एमालेको बहुमत आउने दाबी गरेका छन्। 'एमालेको बहुमतप्राप्त सरकार बनेपछि मात्र संविधान बन्नेमा विश्वस्त हुँदै देशभरका मतदाताले हाम्रा उम्मेदवारलाई भोट हाल्ने मनस्थिति बनाउँदैछन्,' इलाम–१ को फिक्कलमा रहेका खनालले नागरिकसँग भने, 'यस्तै स्थिति कायम रहे, एकसय ५० सिट जित्ने निश्चित छ।'

आफ्नो क्षेत्रका १५ गाविसमध्ये सातवटामा चुनावी सभा र घरदैलो अभियान गरिसकेका खनालले एमालेले बहुमतप्राप्त सरकार बनाएर जनमुखी संविधान निर्माण, लोकतन्त्रको संस्थागत विकास र राज्यको रूपान्तरण गरी दीगो शान्ति कायम गर्दै विकास निर्माणका कामलाई प्राथमिकता दिने बताए। 'क्रान्तिकारी कुरा गर्ने माओवादीको स्थिति पहिलेभन्दा खस्केको छ, कांग्रेस यथास्थितिवादी हुँदा थुप्रै ठाउँमा पराजित हुँदैछ,' आफ्नो जित सुनिश्चित भएको दाबी दोहोर्याथउँदै उनले थपे, 'मसहित अधिकांश एमाले उम्मेदवारले चुनाव जित्दैछौं।' 

५९ हजार ८१४ मतदाता रहेको इलाम १ को प्रमुख व्यापारिक केन्द्र फिक्कलमा आइतबार आमसभा सकेका खनालसँग यसपल्ट कांग्रेसका हिमालय कर्माचार्य र एमाओवादीका युवकुमार पौडेलसहित ९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। खनालले अघिल्लो चुनावमा कांग्रेसका बेनुपराज प्रसाईंलाई तीन हजार आठ सय ८१ मतले पराजित गरेका थिए।

0 comments

Write Down Your Responses

Powered by Blogger.