काठमाडौ,
मंसिर १५ -
लागूऔषध कारोबार अभियोगमा नेपालगन्जस्थित कारागारकी थुनुवा ३६ वर्षीया
देवीमाया शाहीको मृत्युपछि १५ दिने बालिका अभिभावकविहीन भएकी छन् ।
बालिकालाई महिला कैदी र बन्दीले संरक्षण दिएका छन् ।
कारागार सुरक्षार्थ खटिएका प्रहरी प्रमुख सइ खगेन्द्र बीसीका अनुसार भेरी
अञ्चल अस्पतालमा सुरक्षित सुत्केरी भएकी देवीमायाको मंसिर ११ गते मृत्यु
भएको हो । उनी मंसिर १ गते सुत्केरी भएकी थिइन् ।
देवीमायालाई ६ महिनाअघि लागूऔषध कारोबार अभियोगमा थुनुवाका लागि कारागार
ल्याइएको थियो । तेह्रथुम माइती भएकी उनले पछिल्लोपल्ट भारतीय नागरिकसँग
विवाह गरेको प्रहरीले जनाएको छ । त्यसअघि देवीमायाको भैरहवामा विवाह भएको र
छोरा रहेको प्रहरीको दाबी छ ।
'सुत्केरी हुने समयमा कारागारबाट अस्पताल पुर्याइएको थियो । हामीबाट हुने
सबै सहयोग गरेका थियौं तर सुत्केरीपछि उनको मृत्यु भयो,' सइ बीसीले भने,
'देवीमायाको मृत्युपछि बच्चीको स्याहारमा समस्या भएको छ । महिला
कैदीबन्दीले आफूसँग राखेका छन् ।' महिला कैदी र थुनुवाले बच्चालाई सम्हाल्न
निकै समस्या रहेको बताएका छन् । आमाको दूध खान नपाएर बच्चा रोएर हैरान
पार्ने उनीहरूले बताए । बच्चालाई बाहिरबाट ल्याएको दूध खुवाएर राखिएको
कारागारले जनाएको छ । थुनामा राख्न कारागार ल्याएकी देवीमायाले आफू गर्भवती
नभएको महिला कैदीबन्दीलाई बताउँदै आएको प्रशासनको दाबी छ । उनले आफू
मोटाएको बताउँदै आएकाले नियमित स्वास्थ्य परीक्षणसमेत गराएकी थिइनन् ।
गर्भवतीका बेला खानपानमा ध्यान नदिँदा, थुनुवा बस्दा मानसिक तनाव र नियमित
स्वास्थ्य परीक्षण नगराउँदा देवीमायाको मृत्यु भएको कैदी र थुनुवाको शंका छ
।
मृत्युको ३ दिनपछि शुक्रबार भैरहवाका एक आफन्तले शव बुझेको कारागारले
जनाएको छ । बच्चाको जिम्मा लगाउन उनका अरू आफन्तको खोजी गरिरहेको कारागार
प्रशासनले जनायो । मृतक देवीमायाकी बहिनी सम्पर्कमा आएको तर शुक्रबारसम्म
बच्चा नबुझेको प्रहरीले जनाए । जिल्ला जनस्वास्थ्यका प्रमुख जीवनकुमार
मल्लले घटनाबारे जानकारी नभएको बताए । उनले थुनुवा सुत्केरीको मृत्युबारे
जिल्ला प्रशासनबाट बुझ्ने बताए ।
थुनुवा सुत्केरीको मृत्यु
Powered by Blogger.
0 comments
Write Down Your Responses