कसले भन्छ उनलाई छोरी मात्रै ?

source:ujalyonline
हिन्दु नेपाली समाजमा छोरीलाई झुक्किएर खुट्टाले छोयो भने बाबुआमा झस्किन्छन् । खै खै छोरी खुट्टा उचाल भन्दै ढोग्छन् । ‘छोरीले बाबुआमाको खुट्टा छुनुहुन्न, पाप लाग्छ’ हाम्रो समाजमा कायमै रहेको मान्यता हो यो ।  
दाजुभाइ छन् भने बाबुआमाको रेखदेख र स्याहारसुसार गर्ने कर छोरीलाई त्यति हुँदैन । अशक्त र रोगी बाबुआमालाई खुवाउन–पिलाउने, धोइपखाली, पुछपाछ, दिसापिसाब गराउने सबैजसो काम छोराले नै गर्छन् । छोरा छैनन् भने मात्र छोरीलाई अघि सर्नुपर्ने बाध्यता आइलाग्छ । तर अस्पतालमा आमा र भाइसँगै बिरामी बाबु कुरेर बसेकी धादिङ चरौंदीकी शारदा सिलवालको कुरा चाहिँ अर्कै छ ।
हप्ता दिनदेखि अस्पतालको शैयामा रहेका शारदाकी बाबु हिँडडुल गर्न त परको कुरा, राम्रोसँग उठबस गर्न पनि सक्नुहुन्न । भर्खरै अप्रेशन गरेको घाउ घरीघरी दुख्छ । कहिले सुतिरहन मन लाग्छ, कहिले कसैको सहारामा यसो ज्यान उठाएर अढेस लगाउनुपर्छ । बेलाबेला झोलिलो खानेकुरा खानुपर्छ । त्यसै अनुसार औषधि लिनुपर्छ । दिसापिसाब लाग्दा सुरुवालको इजार खोल्न पनि आफ्नो हातले हुदैन । कहिले हात झमझमाउँछ । कहिले खुट्टा करकर खान्छ । यस्तो बेला टाउकोदेखि खुट्टासम्म कसैले मालिस गरिदिए हुन्थ्यो भन्ने लाग्छ । बाबुलाई यी सबैथोक कुनबेला कसरी गर्नुपर्छ भन्ने कुरा शारदालाई कण्ठस्थ छ ।
‘अब पिसाब गरेर एकछिन आरामले निदानुहोस्’ छेउको पर्दा ढाक्दै छोरीले भनिन् । बिरामी बाबुलाई अप्ठेरो लाग्यो । ‘बिरामीले पनि अप्ठेरो मानेर हुन्छ ?’ छोरी अघि सरिन् । ‘म आउँछु नि त छोरी बस’ नजिकै बसिरहेकी आमा उठ्न खोज्नुभयो । ‘पर्दैन तपाईं त्यहीँ बस्नुस्’ फुर्तिली शारदा भाँडो उचालेर तयार हुनुभयो । छोरीको अघिल्तिर बाबुआमाको केही लागेन ।
एकछिनपछि बाबुलाई मालिस गर्ने बेला भयो । शारदाले टेबुलबाट डेटोल झिक्नुभयो । मनतातो पानीमा अलिकति खन्याउनुभयो । सफा कपडा भिजाउनुभयो ।  शिरदेखि कपडाले पुछ्दै खुट्टासम्म सुम्सुम्याउनुभयो । निकैबेर बाबुको खुट्टा मालिस गर्नुभयो । बिरामी बाबु सञ्चोसँग निदाउनुभयो । छेउमा बसेकी आमा टोलाएर बस्नुभयो । वरपर बेडमा रहेका बिरामी र उनीहरुका आफन्तलाई अचम्म लाग्यो । ‘आहा ! कस्ती छोरी’ सबैको मुखबाट निस्क्यो ।
‘यस्तै हो यो, हामीलाई त केही गर्न दिन्न’ आमा साबित्रीले भन्नुभयो । आमाको कुरा भुईंमा खस्न नपाउँदै शारदाले जवाफ फर्काउनुभयो, ‘बुबा त मेरो साथी त हो नि....म कहाँ छोरी मात्रै हो र ?’

सबैकी प्यारी बहिनी

शिक्षण अस्पताल महाराजगञ्जभित्र रहेको मनमोहन कार्डियोथोरासिक, भास्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरको चौथो तल्लाको वार्डमा बिरामी र कुरुवाहरुको सधैंजसो घुईंचो भैरहन्छ । विरामी बुबाको हेरचाहको लागि शारदा केही दिनदेखि यही वार्डमा हुनुहुन्छ । फुर्तिली र मिलनसार शारदाले आफ्नो बाबुको मात्रै होइन वरपर रहेका सबै बिरामीको ख्याल गर्नुहुन्छ ।
‘आमालाई औषधी खुवाउनुभयो, त्यो पानी होइन थर्मसको तातो पानी दिनुहोस्, औषधिमा घाम पर्यो, धेरै नबोल्नुस् है बिरामीलाई झर्को लाग्छ.’ अरु बिरामीका कुरुवाहरुलाई सम्झाइरहनुहुन्छ । ‘तपाईंले धेरै बोल्नुहुन्न बुबा, त्यो घाउलाई नचलाउनुस्.’ बिरामीहरुतिर हेर्दै भन्नुहुन्छ । ‘ल राम्रोसित जानुस्, धेरै ख्याल गर्नुस्, औषधि नटुटाउनुहोस्’ डिस्चार्ज भएर जाँदै गरेका बिरामीलाई भन्नुहुन्छ । ‘बहिनी धेरै धन्यवाद है, बुबालाई छिटै निको बनाउनुहोस्’ हात हल्लाउँदै बिरामी र आफन्त बाहिरिन्छन् ।
यो व्यवहार देख्दा लाग्छ, शारदा बिरामी कुरुवा होइन नर्स हो । ‘नर्सले भन्दा पनि राम्रो हेरविचार गर्छिन् यिनले’ छेउकै बेडमा सुतिरहेकी बिरामी विष्णुकुमारी तिमल्सिनाले भन्नुभयो, ‘अब त हाम्री पनि छोरी भैसकिन् उनी ।’
शारदा भएपछि अरु विरामीका कुरुवालाई पनि ढुक्क भएको छ । ‘हामी राति झकाउँछौं, औषधि खुवाउन पनि बिर्सन्छौं, तर बहिनीले हाम्रो पनि काम गरिदिन्छिन्, उनी यहाँ हुँदासम्म आमालाई एक्लै छोडेपनि हामीलाई ढुक्क हुन्छ’ विष्णुकुमारीका छोरा दुर्गाले भन्नुभयो ।
परिवारकी पाचौं सन्तान शारदा महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्वास्थ्य विषय लिएर स्नातक पढ्दै हुनुहुन्छ । ‘छोराको आशमा ६ वटा छोरी भए, अनि एउटा छोरा’ आमा साबित्राले भन्नुभयो ‘अहिले त मेरा सातै सन्तान छोराजस्ता भएका छन् । सबैले उसैगरी काम गर्छन् । हामीलाई काम गर्नै दिँदैनन् । यो छोरी त झन् अचम्मकै छे’ सावित्राले खुशी हुँदै छोरीको तारिफ गर्नुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.