पारसको संरक्षकत्वमा ‘एनआरएन’हरुको बेग्लै संजाल !

२३ असोज, काठमाण्डौ । संविधानसभा निर्वाचन जति नजिकिँदै छ, उति नै त्यसलाई बिथोल्न राजावादी सक्रिय भएका छन् । निर्वाचनलाई भताभुंग पार्नुपर्छ भन्दै राजावादीले विभिन्न छद्म नाममा संगठन खोलेर निर्वाचन विरोधी गतिविधीलाई तीब्र पारेका छन् । हाल उनीहरुले मातृभूमिका लागि युवा अभियान भन्ने मुख्य संगठन खोलेका छन् ।

बाहिर-बाहिर ‘आफ्नो मातृमूभिका लागि केही गर्नुपर्‍यो,’ भनेर सोझा-साझा नेपालीसमेतलाई संगठित गर्ने र भित्र-भित्रै भने राजावादीको पकडमा राखेर आफैंले नेतृत्व गर्ने गरेका छन् । उनीहरुको मुख्य नारा नै ‘मातृभूमिका लागि युवा अभियान, अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ?’ छ ।

स्रोतका अनुसार उनीहरुले थाइल्यान्डमा रहेका पूर्वराजकुमार पारस शाहका सहयोगी सुनील खड्काकै नेतृत्वमा संगठन खोलेका हुन् । यसलाई मुख्य भूमिका खेल्ने काम पारस शाहले गरेका छन् । पारस शाहको सल्लाह र भूमिका संगठनमा सिधा नभएर सुनील खड्कामार्फत हुने गर्छ । आवश्यक पर्दा पूर्वराजा ज्ञानेन्द्रसित पनि भित्री रुपमा सल्लाह लिने गरिएको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।

बेल्जियममा सुरेन्द्र शाक्य, जर्मनीमा शैलेन्द्र भट्ट, बेलायतमा डा. गोपाल पौडेल, डेनमार्कमा कालोटोपी रमेशराज, पोर्चुगलमा लाल नेपाली, अमेरिकानिवासी लेखक शेखर ढुंगेललगायत नेपालीले यो संजालमा सक्रिय भूमिका खेलिरहेका छन् । अव उनीहरु युरोप, अमेरिका, न्युजिल्यान्डलगायत राजावादी भएका वा राष्ट्रवादी धारका पक्षमा रहेका नेपालीलाई समेटेर सबै देशमा शाखा खोल्ने तरखर गरिरहेका छन् । यो निर्वाचन असफल पार्न उनीहरुले सकेसम्म शिव सेना नेपाललाई पनि सक्रिय पारेका छन् । शिव सेना नेपालको युरोप कमिटी गठन भएको छ र त्यसको संयोजकमा शैलेन्द्र भट्ट छन् । भट्ट भने राजावादी संगठन मात्र फैलाउने भन्दा पनि युवालाई रोजगार सिर्जना गर्न विभिन्न विकासको काममार्फत जानुपर्ने तर्क गर्ने गरेका छन् ।

स्रोतका अनुसार सिधै राजावादी नाम राख्दा वा राप्रपा नेपालको नामबाट राजनीतिक गर्दा संगठन विस्तार गर्न नसकिएको, राजाको संस्था भन्दै नेपालीहरु हच्किएकाले उनीहरुले मातृभूमिका लागि नेपाल, नेपाली समाज डेनमार्क, नेपाली एकता समाजजस्ता नामबाट संगठित गरिरहेका छन् । लामो समयसम्म राप्रपा नेपालको संगठन खोलिए पनि बलियो बनाउन नसकेपछि र राजनीतिक गतिविधि गर्दा युरोपेली कानुन अनुसार अप्ठेरो पर्ला भन्ने डरले हालै बेल्जियममा राप्रपा नेपालको नाम बदलेर प्रवासी नेपाली एकता समाज बनाइएको छ । राप्रपा नेपालको नाम अब विदेशका सबै ठाउँमा बदलेर अन्य नाममा नेपालीलाई संगठित गर्ने स्रोतले बतायो ।

अहिले संविधानसभाले निकास नदिने, सहज ढंगले चुनाव भएमा गणतन्त्रवादी बलियो हुने, धर्मनिरपेक्ष राज्य कायम रहने र संघीय राज्यको संविधान बन्ने भएकाले यो निर्वाचनलाई जसरी पनि विथोल्नुपर्ने निष्कर्ष राजावादीले निकालेका छन् । विदेशीको इशारामा अहिले निर्वाचन हुन लागेको, चार दलका नेता पूरै भारतको दलाल बनेको, भारतले यही निर्वाचनमार्फत नेपाललाई सिक्किमीकरण गर्न लागेको र त्यसको बाधक राजसंस्था बनेकाले लेन्डुपदोर्जी मार्फत राजसंस्था फाल्न भारत सफल भएको भन्दै आन्तरिक रुपमा प्रचार गर्ने गरेका छन् ।

यो निर्वाचन विथोल्न उनीहरुले विभिन्न कमिटी बनाएको स्रोतले बतायो । उनीहरु विदेशमा रहेका नेपालीलाई एकजुट गराउनुपर्ने, राष्ट्रवादी नारालाई प्राथमिकताका साथ उठाउनुपर्ने र निर्वाचन विथोल्न शिव सेना नेपाललाई थप सक्रिय बनाउनुपर्ने निर्णयमा पुगेका छन् । त्यसका लागि मासिक लेवी तिरेर पनि शिव सेना नेपाललाई सक्रिय पार्ने र निर्वाचन विथोल्न लगानी गर्नुपर्ने निर्णय गरेको स्रोतले बतायो । पूर्वराजावादीका विभिन्न संगठन भएपनि कमल थापाको राप्रपा नेपाल नै वास्तविक राजसंस्थाका पक्षमा भएकाले त्यसैलाई सहयोग गर्नें निर्णय पनि उनीहरुको छ । तर, सिधै पार्टीगत रुपमा जाँदा सोझा र पछिल्लो राजीनितक अवस्थाले गर्दा चिढिएकाहरुलाई संगठित गर्न गाह्रो पर्ने हुन सक्छ भन्ने आँकलन गर्दै राष्ट्रवादी धारलाई बढी उठाएर जाने योजनामा राजावादी छन् । जसलाई पूर्व युवराज पारशले संरक्षण दिइरहेको समाचारमा उल्लेख छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.