एमाओवादीसँग चुनावचिन्ह मिल्दा मैनाली दम्पत्तीलाई मालामाल

१५ मंसिर, काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीलाई समानुपातिक निर्वाचन प्रणाली खुबै फापेको छ । ०६४ को चुनावमा मैनालीका श्रीमान्-श्रीमतीले नै समानुपातिकको बाटोबाट संविधानसभामा गएर भत्ता र सुविधा पाउनुभएको थियो । cp-mainali

दोस्रो संविधानसभामा पनि मैनाली दम्पत्तिको नाम समानुपातिकमा चढेको छ । तर, एमाओवादीको जस्तै झुक्किने खालको चुनाव चिन्हका कारण देशव्यापी संगठन नभए पनि नेकपा मालेका नाममा १ लाख ३० हजार ३ सय भोट खसेको छ ।
उम्मेद्वारै नभए पनि मालेलाई मत
दोस्रो संविधानसभा निर्वाचनका लागि मतदाता झुक्याउने गरी उस्तै चुनाव चिन्ह पाएका नेकपा मालेलगायत सबै राजनीतिक दलले समानुपातिकमा सभासद पक्का गरेका छन् । समानुपातिकमा मालेलाई दुईसय ४० क्षेत्रबाटै मत झरेको छ । उसको पार्टी संगठन देशभरि छैन भन्ने प्रमाण कहाँबाट स्पष्ट हुन्छ भने उसले प्रत्यक्षतर्फ १ सय ५४ सीटमा मात्रै उम्मेद्वार उठाएको छ । मालेले उम्मेद्वारसम्म नपाएको कालीकोटमा उसलाई ६ सय १ भोट खसेको छ ।
त्यसैगरी माओवादीको गढ मानिने रुकुममा मालेको उम्मेद्वार नभए पनि दुबै क्षेत्रमा गरी १ हजार ६ सय ४३ मत खसेको छ । रोल्पा २ मा मालेले उम्मेद्वार उठाउने मान्छे नपाउँदा पनि त्यहाँबाट उसलाई ९ सय ८ मत खसेको छ । गोरखा २ र ३ मा नेकपा मालेसँग उम्मेद्वार उठाउने मान्छे थिएन । तर, त्यहाँबाट उसको आफ्नो चुनाव चिन्हमा २ हजार ४ सय २० भोट झरेको छ । उम्मेद्वार उठाउन नसकेको माले गोरखामा अनौठो ढंगले चौथो दल बनेको छ । जहाँ एमाओवादीको प्रभाव छ, त्यहाँ मालेलाई राम्रो मत झरेको छ । तर, जहाँ प्रभाव छैन, त्यहाँ कम मत झर्नुले पनि उसको चुनाव चिन्हमा मतदाता झुक्किएको स्पष्ट हुन्छ । रुकुम, रोल्पा र गोरखामा भन्दा ताप्लेजुङ र पाँचथरमा मालेको मत कम छ ।
उस्तै देखिने चुनाव चिहृन पाएका साना दलहरुले प्रत्यक्षमा लाज ढाक्न नसके पनि समानुपातिकमा भने कम्तिमा एकजना सभासद पक्का गरेका छन् । ठूला दललाई दिएको जस्तै चुनाव चिहृन पाएकाले केही साना दललाई भने राम्रो फाइदा मिलेको छ । निर्वाचन आयोगले देशभरी मतदाता शिक्षा चलाए पनि उस्तै चिहृनका कारण धेरै मतदाताले एउटामा हाल्नपर्ने भोट अर्कैलाई हालेको पाइएको छ । उस्तै चुनाव चिहृन भएकाले मतदाताहरुले एउटा भन्दा बढी चिहृनमा भोट हाल्दा धेरै म बदर भएको छ ।
एकीकृत माओवादीको चुनाव चिहृनसँग मिल्ने चुनाव चिहृन पाएको नेकपा मालेले यो पटकको चुनावमा पनि विगतमा जस्तै राम्रो फाइदा लिएको छ । एमाओवादीको हसिँया हथौडासँग मिल्दोजुल्दो हसिंया र तारा चुनाव चिहृन पाएको मालेले प्रत्यक्षतर्फ लाज जोगाउन नसके पनि समानुपातिकमा भने अप्रत्याशित मत ल्याएको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ मालेले एक लाख ३० हजार ३ सय मत ल्याएको छ । माओको चुनाव चिन्ह हँसिया र तारा रहेकाले अनपढ एवं बूढाबूढी मतदाताहरुले एमाओवादी ठानेर मतदान गर्ने गर्दा नेकपा मालेको मत यसरी बढ्ने गरेको हो ।
संगठनको हिसाबले नेकपा माले भन्दा चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाको जनाधार बढी छ । तर, निर्वाचनमा जनमोर्चाको ९२ हजार मात्रै मत आएको छ भने मैनाली नेतृत्वको मालेले झुक्किने चुनाव चिन्हकै कारण जनमोर्चाको भन्दा ३८ हजार बढी मत पाएको छ ।
नेकपा मालेले अहिलेसम्म पाएको मत हेर्दा कम्तिमा ५ जना सभासद पक्का गरेको छ । मालेले प्रत्यक्षमा उठाएका सबैजसो उम्मेदवारले भने पानीसमेत पिउन सकेनन् । चुनावअघि प्रचारका कार्यक्रम पनि नगरेको मालेले एमाओवादीसँगको चुनाव चिहृन मिलेकै कारण यति धेरै भोट पाएको विज्ञहरुको भनाइ छ ।
एमाओवादीको मत मालेको पोल्टामा पर्दा एमाओवादीले पाउने केही सीट मालेतर्फ जाने गरेको छ । र, यसैबाट फाइदा उठाउँदै मैनालीले आफू र श्रीमतीलाई समेत सभासद बनाउँदै आउनुभएको छ । यद्यपि यसबारे मैनालीले आफ्नो दल र संगठनको प्रभावले यस्तो मत आएको बताउने गर्नुभएको छ । बरु आफ्नो मत चाँहि एमाओवादी तिर जाने गरेको र आफूलाई घाटा लागेको मैनालीको तर्क छ । आफ्नी पत्नी निलम खड्का पार्टी नेतृ भएकाले सभासद बनेको उहाँको तर्क छ ।
संयुक्तलाई पनि ढोडिया
एमाओवादी र मालेसँग केही मिल्ने हसिँया चुनाव चिहृन पाएको नेकपा संयुक्तले पनि समानुपातिकमा कम्तिमा ३ जना सभासद पक्का गरेको छ । मतपत्रमा हसिँया हथौडा, हसिँया र तारा तथा हसिंया आममतदातालाई उस्तै लाग्ने चुनाव चिहृन हुन् ।
गाई र हलगोरुलाई पनि समानुपातिकमा उल्लेख्य भोट
गाई चुनाव चिहृन पाएको राप्रपा नेपालले प्रत्यक्षमा एक सीट पनि जित्न सकेन । तर समानुपातिकतर्फ भने उसको चुनाव चिहृन गाईले हरियो घाँस प्रशस्त खान पाएको छ । गाईले समानुपातिकतर्फ मंगलबार दिउँसोसम्म ६ लाख १८ हजार ३५ मत ल्याइसकेको छ । राप्रपा नेपालले अहिलेसम्मको समानुपातिकको मतगणनामा कम्तिमा पनि २० जना सभासद पक्का गरेको छ ।
तमलोपालाई राम्रो भोट, जनतान्त्रिकलाई शून्य
राप्रपा नेपालसँग मिल्दोजुल्दो चुनाव चिहृन पाएका दुईवटा तराईमूलका पार्टी मध्ये एकले जनताबाट भोट पाएको छ भने अर्कोले भने निराश हुनुपरेको छ । मतदाताले तमलोपालाई समानुपातिक राम्रो भोट दिएका छन् भने जनतान्त्रिक तराई मुक्ति टाइगर्सलाई भने लोप्पा खुवाएका छन् ।
हल गोरु चुनाब चिहृन पाएको तराई मधेस लोकतान्त्रिक पार्टीले मंगलबार दिउँसो सम्म एक लाख ५३ हजार तीन सय ५३ मत ल्याएको छ । उसले कम्तीमा पनि ६ जना सभासद समानुपातिकबाट पक्का गरेेको छ ।
तमलोपासँग मिल्दोजुल्दो चुनाव चिहृन पाएको जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्सलाई भने जनताले पत्याएनन् । तराई मधेसमा परालदेखि बाँस र अन्य उपभोग्य सामान बोक्न प्रयोग गरिने गोरुगाडा चुनाव चिहृन पाएको जनतान्त्रिकले भने समानुपातिकमा जम्मा तीन हजार ६ सय ३५ मत मात्र पाएको छ ।
चुनावी विकृति हटाउन जरुरी
समानुपातिक निर्वाचन प्रणाली सीमान्तीकृत र साना दलको पनि नीति निर्माणमा सहभागिता होस्. भनेर ल्याइएको हो । साथै प्रत्यक्षतर्फ छुटेका जात जाति र समुदायलाई पनि संसदमा सहभागी गराउनका लागि यो प्रणाली अपनाइएको हो । तर, आपसमा मिल्दो चुनाव चिन्हको ढोडिया थापेर असचेत मतदाताको मतका आधारमा पति-पत्नी नै सभासद बन्ने प्रचलनलाई हाम्रो निर्वाचन प्रणालीको विकृति भन्ने कि के भन्ने ? आगामी दिनमा चुनावी प्रणालीबारे समीक्षा गरियो भने यो विषयमा पनि बहस जरुरी छ । चुनावलाई त्रुटीरहित बनाउने हो भने निर्वाचन आयोगले मिल्दोजुल्दो चुनाव चिन्ह वितरण गर्नेबारे समीक्षा गर्न जरुरी देखिन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.