जितेपछि पनि प्रचार शैलीमै मतदाता भेट्दै सभासद्
११
मंसिर, काठमाडौं । संविधानसभाको निर्वाचनमा विजयी भएपछि जिल्लाका सभासद्
धमाधम गाउँ फर्कन थालेका छन् । चुनावको बेला मात्र गाउँमा आउने गरेको
मतदाताको गुनासो सम्बोधन गर्न निर्वाचित भएलगत्तै सभासद्हरू आफ्नो निर्वाचन
क्षेत्र फर्किएका हुन् । दोलखा–१ बाट निर्वाचित सभासद् पार्वत गुरुङले त
चुनाव प्रचार–प्रसारकै शैलीमा आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान सुरु
गरेका छन् ।
आइतबार सदरमुकाम चरिकोटमा एमालेले आयोजना
गरेको विजय जुलुसलगत्तै गुरुङले निर्वाचन क्षेत्रमा घरदैलो अभियान सुरु
गरेका हुन् । उनले आइतबार नै नाम्दु र काभ्रे गाविसमा घरदैलो अभियान सकाएका
थिए । सोमबार पनि गुरुङले काभ्रे गाविसको काभ्रे बजारसहित जिरी, स्यामा,
ठूलोपातलको केही क्षेत्रमा घरदैलो सकाएर स्यामा गाविस पुगेका छन् । सो
गाविस संविधानसभा निर्वाचनमा दोलखा–१ बाट उम्मेदवार बनेका गुरुङका निकटतम
प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार जिपछिरिङ लामा शेर्पाको गाविस
हो ।
प्रतिद्वन्द्वीकै गाविस रहेकाले पनि
स्यामामा घरदैलो अभियानसहित एक दिन सोही गाविसमा बिताउने गरी सबैसँग
भेटघाटको कार्यक्रम बनाइएको छ । एमाले दोलखाका पूर्वअध्यक्षसमेत रहेका
नवनिर्वाचित सभासद् गुरुङले आफ्नो निर्वाचन क्षेत्रको २८ ओटै गाविसमा
घरदैलो अभियानसहित पुग्ने बताए । ‘जितेपछि आफ्ना जनप्रतिनिधिलाई कहिल्यै
भेटिँदैन, आउँदै आउँदैनन् भन्ने गुनासो निकै सुनियो, अब त्यस्तो नहुने
विजयलगत्तै चुनाव प्रचार–प्रसारकै शैलीमा सबै मतदाता भेटने गरी क्षेत्र र
गाउँ फर्किएँ,’ गुरुङले राजधानीसँग भने । उनले निर्वाचन क्षेत्रमा पर्ने २८
ओटै गाविसमा घरदैलो सकेर मात्र अन्य कामलाई ध्यान दिने भन्दै त्यसपछि
मात्र सदरमुकाम र राजधानी आउने जानकारी दिएको राजधानी दैनिकमा खबर छ ।
चुनाव प्रचार–प्रसारकै शैलीमा सभासद् गाउँ
पुगेपछि स्थानीयवासी पनि निकै खुसी देखिएका छन् । उनीहरूले मत मागेकै
शैलीमा सभासद् नमस्कार गर्दै आएपछि निकै खुसी देखिएका हुन् । दोलखा–२ का
नवनिर्वाचित सभासद् आनन्दप्रसाद पोखरेल पनि जितेपछि क्षेत्र फर्किएका छन् ।
पोखरेल मंगलबार सुन्द्रावती र सुनखानी गाविसमा भेटघाट गर्दैछन् । त्यसपछि
पोखरेलले पनि भीमेश्वर नगरपालिकाका सबै वडासहित क्षेत्रभर घरदैलो अभियान
चलाउने कार्यक्रम बनाएका छन् । झापा–१ बाट निर्वाचित सभासद् रवीन कोइराला, २
का सुधीरकुमार सिवाकोटी, ५ का केशवकुमार बुढाथोकी र ६ का सभासद् दीपक
कार्की पनि निर्वाचन क्षेत्र फर्किएका छन् ।
कोइराला नगरपालिकासहित बाहुनडाँगी र
शान्तिनगर गाविसमा मतदाता भेटघाटमा रहेका छन् । यस्तै, सिवाकोटी चन्द्रगढी र
दुवागढी, बुढाथोकी टागनडुब्बा र कुमरखोद (झापा) र कार्की माहारानी झोडा
गाविसमा मतदाता भेटघाट गरिरहेका छन् । भोजपुरका सभासद्द्वय शेरधन राई र
कृपासुर शेर्पा पनि निर्वाचन क्षेत्रका मतदाता भेट्न सदरमुकाम छाडेर गाउँ
फर्किएका छन् । उनीहरू दुवैले अभियान नै चलाएर क्षेत्रका मतदाता भेटलाई अघि
बढाएका हुन् । यस्तै, काभ्रेका निर्वाचित चारै सभासद् गाउँ फर्किएका छन् ।
काभ्रे–१ का तीर्थ लामा, २ का रामहरि सुवेदी, ३ का कञ्चनचन्द्र बादे
श्रेष्ठ र ४ का विदुर सापकोटा मतदातालाई धन्यवाद दिन क्षेत्र फर्किएका हुन्
।
उनीहरूले अहिले निर्वाचन क्षेत्रमा पर्ने
विभिन्न स्थानमा भेटघाट अघि बढाएका छन् । यस्तै, सिन्धुपाल्चोक–१ का
नवनिर्वाचित सभासद् मोहनबहादुर बस्नेत र ३ का सभासद् शेरबहादुर तामाङ पनि
मतदाता भेट्न निर्वाचन क्षेत्र फर्किएका छन् । मतदातालाई धन्यवाद दिन र
समस्याबारे थप जानकारी लिन भन्दै बस्नेत र तामाङ क्षेत्रका मतदाता भेटन
गाउँ फर्किएका हुन् । सिन्धुपाल्चोक–२ का नवनिर्वाचित सभासद् अग्नि
सापकोटाले भने विजयी भएको प्रमाण–पत्रसमेत लिएका छैनन् । उनी मतदान सकेर
काठमाडौं फर्किएपछि जिल्लामा टेकेकै छैनन् ।
ओखलढुंगा–१ का सभासद् यज्ञराज सुनुवार र २
का सभासद् रामहरि खतिवडाले पनि मतदाता भेट्न क्षेत्र फर्किएको बताएका छन् ।
‘जितेपछि सहर होइन गाउँमा गएर मतदाताको अपेक्षाअनुसार काम गर्नुपर्छ भन्ने
मान्यतासहित क्षेत्र फर्किएको हो,’ झापा–२ का सभासद् सिवाकोटीले भने,
‘लोकतान्त्रिक संविधान निर्माण पहिलो प्राथमिकता रहेको विषयमा जानकारी
गराउन पनि मतदाताबीच गएको हो ।’ सिवाकोटीलाई निर्वाचन क्षेत्रस्थित
हल्दिबारीका मतदाताले २२ हात लामो फूलको माला लगाएर स्वागत गरेका थिए ।
![]() |
0 comments
Write Down Your Responses