त्रिशूलीमा ११ जना अझै बेपत्ता, ९ जनाको उद्धार
चितवन । चितवनको फिसलिङमा हिजो साँझ भएको माइक्रोबस दुर्घटनामा
परेका यात्रुहरूमध्ये आज बिहानसम्ममा नौ जनाको जीवितै उद्धार गरिएको र ११
जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
बा २ ख २५९८ नम्बरको माइक्रोबस दुर्घटनामा हिजो नै दुई जनाको मृत्यु
भएको थियो । मृत्यु हुनेमा ललितपुरकी २२ वर्षीया निशा पौडेल र अस्टे्रलियन
नागरिक ३२ वर्षीया कि निक मारिया रहेका छन् ।
आज बिहानसम्ममा नौ जनालाई जीवितै उद्धार गरिएको र ११ जना अझै बेपत्ता
रहेको खोजी कार्यमा सक्रिय रहेका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी
नायब निरीक्षक रोहित दुलालले जानकारी दिनुभयो । गाडीमा २२ जनाभन्दा बढी
यात्रु हुनसक्नेे प्रहरीले अनुमान गरेको छ ।
प्रहरीका अनुसार नदीमा पसेको माइक्रोबससमेत फेला पार्न नसकिएकाले केही
यात्रु अझै गाडीभित्रै हुनसक्ने आशङ्का गरिएको छ । डुङ्गाको सहायतामा
प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले अहिले खोजी कार्य जारी राखेको
दुलालले जानकारी दिनुभयो ।
एक जना घाइते बेहोस अवस्थामा रहेको र दुई जनाको अवस्था गम्भीर रहेको
प्रहरीले जनाएको छ । घटनामा अझै मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाइ
रहेको छ । दुई जनाको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
तीव्रगतिका कारण सो दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ ।
दुर्घटनापछि उद्धार गरिएका घाइते यात्रुको भनाइलाई उद्यृत गर्दै मुग्लिन
प्रहरीले सो जानकारी दिएको हो । रासस
0 comments
Write Down Your Responses