काठमाडौ,
कार्तिक १ -
निर्वाचन आयोगले संविधानसभा चुनावको तयारी तीव्र बनाएको छ । आयोगले जनक
शिक्षा सामग्री केन्द्रमा कर्मचारीलाई दसैं बिदासमेत नदिई मतपत्र छापेको
उल्लेख गर्दै छपाइको ५० प्रतिशत काम सकिएको आयोगका सहसचिव एवं प्रवक्ता
वीरबहादुर राईले जनाएका छन् । राईका अनुसार समानुपातिक सिटतर्फ मतपत्र छपाइ
कार्य करिब-करिब सकिएको छ भने प्रत्यक्षका २ सय ४० सिटका लागि छाप्ने काम
भइरहेको छ ।
आयोगका एक अधिकारीका अनुसार प्रत्यक्षतर्फको २६ सिटको मतपत्रको छपाइ
सकिएको छ । ती अधिकारीका अनुसार करिब १ करोड २४ लाख मतदाता भए पनि आयोगले
डेढ करोड मतपत्र छाप्दैछ । मतपत्र कुनै कारण बिगि्रए, च्यातिए या खोसिए
निर्वाचन नरोकियोस् भनेर प्रत्यक्ष र समानुपातिक दुवैतर्फ डेढ करोडको दरले
मतपत्र छाप्न लागिएको हो ।
'छपाइ धमाधम भइरहेको छ, समानुपातिक सिटको मतपत्रको छपाइ सकिन लाग्यो ।
प्रत्यक्ष निर्वाचनको मतपत्र छाप्ने कार्य सुरु भइसकेको छ, अबको केही दिनमै
मतपत्र छपाइ कार्य सकिन्छ'
राईले भने ।
दलहरूले पनि दसैंलगत्तै चुनावी घोषणापत्र जारी गरी देशव्यापी निर्वाचन
अभियान सुरु गर्ने भएका छन् । उनीहरूले निर्वाचन क्षेत्रहरूमा आ-आफ्ना
पार्टीका प्रत्यक्ष सिटका उम्मेदवारलाई र समानुपातिक सिटमा पार्टीलाई
जिताउन आममतदातालाई अपिल गरिएका पोस्टर, पम्पलेट, पर्चा, मुखपत्र पुर्याएर
बाँड्न थालिसकेका छन् ।
नेकपा एमाले र राप्रपाले घोषणापत्र सार्वजनिक गरी निर्वाचनको अभियानको
थालनी गरिसकेका छन् भने एमाओवादी र नेपलाी कांग्रेस दुवैले एकै दिन शनिबार
घोषणापत्र सार्वजनिक गर्दैछन् । कांग्रेस कार्यसमितिको शुक्रबार बस्ने
बैठकले घोषणापत्रलाई पारित गर्ने र शनिबार सार्वजनिक गर्ने पार्टीका प्रचार
विभाग प्रमुख मीनेन्द्र रिजालले जनाए ।
मधेसी दलहरूले पनि एक साताभित्रै घोषणापत्र सार्वजनिक गरी देशव्यापी चुनावी अभियान थाल्ने तयारी गरिरहेका छन् ।
एमाओवादी, कांग्रेस र एमालेले घोषणापत्र सबै जिल्लामा पुर्याइसकेपछि
आफ्ना शीर्ष नेताहरू एक साथ सबै निर्वाचन क्षेत्रमा गएर सम्बोधन गरी चुनावी
अभियानलाई तीव्रता दिने छन् । शीर्ष नेताहरू एकसाथ सबै निर्वाचन क्षेत्रको
दौडाहा गर्दा पार्टीमा एकताको सन्देश जाने र आफ्नो पक्षमा माहोल बन्ने ती
दलको विश्वास छ ।
एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय बाबुराम भट्टराई र
नारायणकाजी श्रेष्ठ, कांग्रेसबाट सभापति सुशील कोइराला, वरिष्ठ नेता
शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र एमालेबाट अध्यक्ष झलनाथ खनाल,
वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र केपी ओली देशव्यापी दौडाहामा जाने भएका
छन् ।
एमाओवादीका नेता श्रेष्ठले पार्टीले शनिबार निर्वाचन घोषणापत्र सार्वजनिक
गरेपछि देशव्यापी प्रचारप्रसारलाई तीव्र पारिने बताए । उनका अनुसार
घोषणापत्र निर्माणको काम सकिएको छ । त्यसलाई
छपाइमा पठाइएको श्रेष्ठले जनाए । 'घोषणापत्र सार्वजनिक गरेपछि चुनावी प्रचार प्रसारले तीव्रता पाउँछ,' उनले भने ।
कांग्रेस प्रचार विभाग प्रमुख रिजालले घोषणापत्र जारी गरिसकेपछि आफ्ना
पार्टीका शीर्ष नेताहरूको एक साथ देशव्यापी चुनावी दौडाहा सुरु हुने जनाए ।
'हाम्रो घोषणापत्र शनिबार सार्वजनिक गर्छौं । घोषणापत्र सार्वजनिक भएपछि
देशव्यापी रूपमा पार्टीको पक्षमा लहर ल्याउन पार्टीका तीनै जना शीर्षसहित
प्रमुख नेताहरूले एक साथ जिल्ला-जिल्लाको दौडाहा गरी निर्वाचन प्रचार
अभियान सुरु गर्नुहुनेछ,' रिजालले भने ।
केन्द्रबाट एउटै रंगको पोस्टर तयार गरी उम्मेदवारलाई दिइएको माओवादी
प्रवक्ता अग्नि सापकोटाले बताए । उनका अनुसार पार्टीले अध्यक्ष पुष्पकमल
दाहालको हस्ताक्षर भएको पर्चा भने केन्द्रबाट छापेर सबै निर्वाचन क्षेत्रमा
पठाउने तयारी गरेको छ ।
एमाओवादीले आफू सरकारमा भएका बेला गरिएका राम्रा काम जनतामा पुर्याउन
छुट्टै पर्चा छाप्ने तयारी समेत गरेको छ । त्यो पर्चा पनि देशभर पठाइने
उनले जनाए । प्रचारप्रसारका लागि कात्तिक ३ गतेबाट जनादेश साप्ताहिकलाई
दैनिक बनाउन निर्णय उसले गरेको छ । आठ पृष्ठको ट्याब्लोइड पत्रिका
निर्वाचनलाई लक्षित गरी प्रकाशन गरिने प्रवक्ता सापकोटाले बताए । कृष्णसेन
समाचार सेवालाई दिनमा तीनपटक अपडेट गर्ने, सामाजिक सञ्जालको प्रयोग गर्ने र
अन्य सञ्चार माध्यममा आफ्नो प्रचारप्रसार सामग्री पठाउने नीतिसमेत उसले
बनाएको छ ।
एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले पार्टी घोषणापत्र सार्वजनिक
भए पनि त्यसलाई छरितो आकारमा प्रकाशन गरी सबै क्षेत्रमा पुर्याएर
देशव्यापी चुनावी अभियान सुरु गरिने जानकारी दिए । 'हामीले सबै माध्यमबाट
प्रचारप्रसार तीव्र पार्दैछौं,' उनले भने, 'न्यु मिडियाको प्रयोग राम्रो
देखिएको छ ।'
उनका अनुसार एमालेका उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन् ।
उनीहरूले स्थानीयस्तरमा एक रंगको पोस्टर र पर्चा बनाएर मतदाताकहाँ
पुगिरहेका छन् । पर्चा र पोस्टरबाहेक एमालेले न्यु मिडियालाई व्यापक
प्रयोगमा ल्याएको उनले जनाए । पार्टीको औपचारिक समाचार सेवा 'रातो सूर्य'
मार्फत पार्टीका निर्वाचन गतिविधि निरन्तर अपडेट गरिरहेको एमालेले आमसञ्चार
माध्यमसँगको सम्बन्धसमेत विस्तार गरिरहेको जानकारी ज्ञवालीले दिए ।
चुनावी अभियान तीव्र
Powered by Blogger.
0 comments
Write Down Your Responses