खनालको चुनावी कार्यक्रम आजदेखि
दुईटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका नेकपा एमाले अध्यक्ष झलनाथ खनाल १३ दिनपछि हुने चुनावका लागि प्रचार प्रसार तीव्र पार्न आजबाट सर्लाही १ जाँदैछन्। इलाम १ मा १८ दिन चुनावी प्रचार प्रसारमा व्यस्त भई राजधानीमा भाइटीका लगाएर खनाल अर्को क्षेत्र सर्लाही १ मा केन्द्रित हुन लागेका हुन्।
आफ्नो पार्टी एमाले तराईमा पनि उत्तिकै लोकप्रिय भएको दावी गर्दै दुई तिरबाट उम्मेदवारी दिएको बताउँदै आएका खनाल सर्लाहीमा साताभर बस्ने उनका स्वकीय सचिव रामबाबु अधिकारीले जानकारी दिए। 'त्यहाँको निर्वाचन परिचालन कमिटीले बनाएको कार्यक्रमअनुसार प्रचारप्रसारमा केन्द्रित हुन्छौं,' अधिकारीले भने।
पहिलोपल्ट तराईबाट पनि चुनाव लड्दै गरेका खनाल सर्लाही १ मा चुनावी घरदैलो, कोणसभा र भेटघाट सकेपछि इलाममा हुने एमालेको क्षेत्रीय र जिल्ला सभामा सहभागी हुने कार्यक्रम छ। तीन निर्वाचन क्षेत्र रहेको इलाममा कात्तिक २८ गते जिल्ला र मंसिर १ गते एमालेको क्षेत्रीय चुनावी सभा हुँदैछ।
काँग्रेसकी सुशीला कार्की, मधेसी जनअधिकार फोरमकी सावित्री महतो, संघीय समाजवादीका बुद्धसिंह लामा, फोरम लोकतान्त्रिकका शिवकुमार गुर्मछानेसहितका उम्मेदवार रहेको सर्लाही १ बाट आफूले जित्ने खनालको दावी छ। 'एमाले पहाडमा मात्र होइन मधेशमा पनि उत्तिकै लोकप्रिय भएको यसपल्ट देखिनेछ' उनले भन्दै आएका छन्।
0 comments
Write Down Your Responses