गाउँको दशैं पो दसैं, काठमाडौंको के दसैं !
१२
असोज, काठमाडौं । तस्वीरमा देखिने सेता जुँगाधारी ज्येष्ठ नागरिकको नाम
हो- हरिप्रसाद न्यौपाने । रेग्मी सरकारका कानूनमन्त्रीसँग ठ्याक्कै नाम
मिल्ने ‘नागरिक न्यौपाने’ आफ्नो गृहजिल्ला भोजपुरलाई चटक्क छाडेर
काठमाडौंमा स्थायीरुपमा बसोबास गर्न थाल्नुभएको १६ वर्ष बितेको छ ।
र,
जतिखेर दसैं लाग्छ, न्यौपानेलाई गाउँको यादले बढी सताउन थाल्छ । शायद यही
भएर होला, पुरानो दसैंको सम्झना गराउनासाथ उहाँले भन्नुभयो-
‘गाउँको दसैं पो दसैं, शहरको दसैं के दसैं ?’
सामुदायिक वनको क्षेत्रमा चिरपरिचित नाम
बनाइसक्नुभएका न्यौपानेले विदेश भ्रमणको अवसर पनि नपाउनुभएको होइन । तर,
उहाँको मन विदेशले तानेन । काठमाडौं शहरको झल्याक झुलुक भन्दा पनि उहाँलाई
अहिलेसम्म गाउँले परिवेश नै प्यारो लाग्ने गरेको छ ।
विघटित संविधानसभा भवनसमेत होचो
देखिने नयाँ बानेश्वरको ६ तले बादशाह फास्टफुडमा शनिबार भोजपुरेहरुको दसैं
भेटघाट कार्यक्रममा भेटिनुभएका न्यौपानेले गाउँ र काठमाडौंको दसैंबारे
यसरी फरक छुट्याउनुभयो :
मेरो नाम हरिप्रसाद न्यौपाने हो । अहिले
६५ वर्षमा हिँड्दैछु । म काठमाडौं बस्न थालेको १५ वर्ष भइसक्यो । युवा
उमेरमा गाउँमै दशैं मनाएँ । अहिले भने स-परिवार काठमाडौंमा दशैं मनाउँदै
आएको छु । म अचेल दशैं त्यस्तो ठूलो तयारी गरेर मनाउँदिन । बाबु बाजेले
पहिलेदेखि जसरी मनाउने गर्नुभएको थियो, त्यसलाई नै पछ्याउने कोशिस गरिरहेको
छु ।
पहिले हामी तन्नेरी हुँदा पुरानो संस्कार र
संस्कृतिलाई मानिसले एकदमै माया गर्थे । गाउँमा जतिसक्दो रमाइलो गरेर दशैं
मनाउने चलन थियो । अहिले पुराना मौलिक कुरा युवाहरुले भुल्दै गएका छन् ।
अहिले दशैं मनाइरहँदा पुरा संस्कारहरुको संरक्षण हुन सकेको छैन । सहर
बजारमा पुराना संस्कारहरु हराइसकेका छन् । हाम्रा मौलिक परम्परालाई
आधुनिकताको नाममा भित्रेका नयाँ चलनले धमिल्याइसेका छन् ।
गाउँबस्तीमा जाँदामात्रै पुराना
संस्कारहरु भेटिन्छन् । बाबु, आमा र बाजेले मान्दै आएका संस्कृतिलाई
अहिलेका छोरा नातिपुस्ताले उपहास गरेको देख्दा मन दुख्छ ।
म काठमाडौंमा ०५४ सालदेखि बस्दै आएको मैले
संसारका धेरै देश घुमेर अन्य देशका संस्कृति पनि हेर्न पाएको छु ।
अमेरिका, क्यानाडा, बेला, सिंगापुरजस्ता देश घुमेको अनुभव बताउँदा हाम्रो
देशको संस्कृति लोप हुँदै आएको देखेको छु ।
गाउँ छाडेपछि आजसम्म सबै दशैं तिहारजस्ता
पर्वहरु राजधानीमै मनाउँदै आएको छु । काठमाडौं र गाउँमा दशैं मनाउँदा
आकाश-जमीनको फरक छ । गाउँमा पुराना मौलिक संस्कारलाई नभुलेकाले इष्टमित्र,
छरछिमेकी, साथीभाइ मिलेर दशैं मनाउँदाको खुसी व्यक्त गर्नै सकिन्न ।
काठमाडौंमा भने दशैं देखासिखीको माध्यम
बनेको छ । दशैं यहाँ कस्तो भएको छ भने एकअर्काको देखासिकी गर्ने र
भडि्कलोरुपमा मनाउने गर्दा हाम्रा संस्कृतिलाई विकृतिले गाँज्दै गएको छ ।
सहरमा चाडपर्वहरु मानिसले स्वार्थी भएर मनाउँछन् तर गाउँघरको दशैंको छुट्टै
महत्व छ ।
सारा गाउँले भेला भएर एकापसमा खुसी साट्दै
सद्भाव आदान-प्रदान गरेर मनाइने गाउँको दशैं पो साच्चैको दशैं । सहरमा
मनाउने भड्किलो दशैंलाई खै के दशैं भन्नु र ?
0 comments
Write Down Your Responses