गच्छदार यसरी हारे
सत्ता राजनीतिका 'खेलाडी' विजयकुमार गच्छदार संविधानसभाको दोस्रो
निर्वाचनको चुनावी प्रचारप्रसारमा यसपटक आफू उठेको क्षेत्रमा कम देखिन्थे।
त्यो झिनो उपस्थितिमा चुनावी भाषण गर्दा सधैं भन्न छुटाउँदैनथे– विजय
गच्छदारले हार्न जानेको छैन।
दुई स्थान उठेकामध्ये उनले मोरङ क्षेत्र नं. ५ मा हारको सामना
गर्नुपर्यो। अर्को क्षेत्र सुनसरी ३ मा पनि झिनो मतान्तरले कठीन जित हात
पार्न सके। मोरङ ७ को तथ्यांक केलाउँदा उनी हारको एउटै स्पष्ट देखिएको आधार
पार्टी विभाजन हो। उनले प्राप्त गरेको १० हजार ५ सय ६४ मत र उनी
छुट्टिनुअघि रहेको मधेसी जनअधिकार फोरम उम्मेदवारले ल्याएको ३ हजार ७ सय ६४
मत जो ड्दा १४ हजार ३ सय २८ पुग्छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.
शेखर कोइराला १२ हजार ९ सय ८२ ल्याएर गच्छदारलाई गुल्ट्याएका थिए।
चुनावका लागि त्यतिसाह्रो मेहनत नगर्दै यत्रो मत ल्याउन सकेका गच्छदार यदि
पार्टी एक भएको अवस्थामा हुन्थे भने कोइरालालाई यसै जित्ने थिए। यी दुई
मधेसवादी दलले ल्याएको मत र कोइरालाको मतमा १ हजार ३ सय ४६ अन्तर छ।
मनोनयन दर्तादेखि कोइराला मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताका घरघर
पुगे। विराटनगर छाडेनन्। खुबै खटेका देखिए। गच्छदार मनोनयनदेखि चुनावबीच
एकपटक मात्र आफ्नो क्षेत्रका दुई चार ठाउँ डुले। मौन समय सुरू हुनु अघिल्लो
दिनमात्र आइपुगे। यो समयमा गच्छदार आफ्ना मतदाताकहाँ पुग्न उसै पनि सम्भव
थिएन।
चुनावमा गच्छदारमात्र हारेनन्, संविधानसभा पहिलो निर्वाचनपछि मुलुकको चौथो
शक्तिको उपस्थितिमा देखिएको गच्छदार र अन्य मधेसी नेताका दल पुगनपुग ६
वर्षमै मधेसी जनताबाट तिरस्कृत बनेको मतपरिणाम आफैं साक्षी छ। तराईमा
संघीयताको लडाइँ चलिरहँदा ज्यान माया मारेर हिँडेका जनताले मधेसी
नेताहरूलाई सदन, सरकार पुर्याए। र, यति छिटै समयमा 'साइज'मा ल्याइदिए।
गच्छदार अवसरका लागि जोसँग पनि मिल्न सक्छन् र छिट्टै सम्बन्ध बिगारेर
पन्छिन पनि। उनलाई विद्यार्थी जीवनदेखि चिन्ने नेपाली कांग्रेसका एक जना
पुराना नेता दिलीप सापकोटा भन्छन्, 'विजय पदको लागि जे पनि गर्न तयार
हुन्छन्, स्वार्थ पूरा भएपछि सम्बन्ध बिगार्न बेरै लाग्दैन, यो हारले उनको
चरित्र नंग्याइदिएको छ।'
सापकोटाकै भनाइमा, विद्यार्थी जीवनताका महेन्द्र मोरङ क्याम्पसमा नेविसंघ
राजनीतिमा लाग्दा एमाले कार्यकर्तासँग लडाइँ हुँदा गच्छदार मुस्किलले
बाँचेका थिए। उनीमाथि एमाले कार्यकर्ता हत्याको आरोप लाग्यो। जेल पनि बसे।
उनलाई जेलमुक्त गराउन तत्कालीन कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको हात
थियो। त्यहीँदेखि उनी कोइरालाका विश्वासपात्र बने। कोइराला परिवारको प्रिय
बने।
राजनीतिमा खासै भिजिनसक्दै जनआन्दोलनपछि २०४८ सालमा चुनाव घोषणा हुँदा
उम्मेदवार बने। चुनाव पनि जिते। गिरिजाले सधैं उनलाई सुनसरीको एउटा क्षेत्र
छुट्याइदिन्थे। कोइराला परिवारको नजिक भएको नाताले चुनाव जितेपछि उनलाई
कांग्रेस सत्तामा रहँदा पटक–पटक मन्त्री बन्ने अवसर प्राप्त भयो।
सूचना तथा सञ्चार, जलस्रोत मन्त्री लगातार हातमा पारे। 'गच्छदार गृह
ताक्थे, तर गिरिजाबाबुले त्यहाँ कहिल्यै पुग्न दिनुभएन,' सापकोटा
सम्झन्छन्, 'त्यसपछि गिरिजाबाबुसँग सम्बन्ध बिगारेर पार्टी विभाजन हुँदा
देउवा खेमामा पुगेका थिए।' तर देउवासँग पनि लामो समय टिक्न सकेनन्।
मधेस राजनीति विश्लेषकका अनुसार जातीयता, पार्टीविभाजन र व्यक्तिगत
लोभलालचका कारण मधेसी दलहरू यसपालि नराम्ररी बढारिएका छन्। मधेस राजनीतिका
एक जना विश्लेषक विजय मिश्रका अनुसार एमाले राजनीतिमा रहेका उपेन्द्रले
मधेसमा आगो झोस्न सके। आत्मनिर्णयसहितको एक मधेस प्रदेश घन्काए। त्यसको
परिणाम सुनसरीको जिल्लास्तरको नेता उपेन्द्र माओवादी सरकार बन्दा
परराष्ट्रमन्त्री एकैबाज चिप्ल्याए। अहिले आइपुग्दा मधेस प्रदेशको मुद्दा
एकदेशको कथाजस्तो बनेको छ।
'सुद उपेन्द्रका घरमै पुगेर यसो गर उसो गरसम्म भन्थे,' मिश्रको दाबी छ।
माधव नेपालको नेतृत्वमा सरकार बन्ने बेलामा सहकार्य गर्न भारतीय प्रस्ताव
आउँदा उपेन्द्रले सिधै नाइ भन्दिएका थिए।
यही प्रस्ताव लिएर सुद पुग्दा गच्छदारले स्वागत गरे, र उपेन्द्र र
गच्छदारको अलग–अलग दल बन्यो। फुटले गच्छदारलाई भौतिक योजना तथा निर्माण
मन्त्रालय पुर्यायो। पदका लागि मरिमेट्ने गच्छदार बाबुराम भट्टराईको
नेतृत्वमा सत्ता समीकरण बन्दा त्यतै पछि लागे। सत्ता अवसर चुकाउनु हुन्न
भन्ने गच्छदारको मनोकांक्षा त्यहाँ पूरा हुन सहज थियो। उपप्रधान र गृह
मन्त्रीको शक्तिशाली पद चुम्ने आकांक्षा पूरा भयो। तर मधेसमा दर्जनौं सहिद
बनाएर सत्ता पुगेका यादव र गच्छदारले तराई र घाइते अपांग परिवारतिर भने
कहिल्यै फर्केनन्। यो पदमा पुगेपछि गच्छदारले आफैं भन्दै हिँड्थे – अबको
प्रधानमन्त्री विजय गच्छदार हो।
गच्छदारले बुझेको सत्य हो– चुनाव जित्न पावर र पैसा भए पुगिहाल्छ। अन्य
विषयहरू तपसिल हुन्। तर, अब मतदाताहरू सचेत भइसके। अब दिएको लिने/खाने,
उपयोग गर्ने तर भोट हाल्दा विचार पुर्याउने। गच्छदारले समीक्षा गर्ने नै
छन्।
|
0 comments
Write Down Your Responses